कैलाली। कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा त्रिपक्षिय प्रतिस्पर्धा चलेको छ । प्रतिनिधि सभा सदस्यतर्फ गठबन्धन उम्मेदवार माओवादी केन्द्रका भगत बडुवाल, नागरिक उन्मुक्ति पार्टीका अरुन चौधरी र नेकपा एमालेका उम्मेदवार झपट रावलबीच कडा प्रतिस्पर्धा भइरहेको हो। पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार भगत बडुवालको अग्रता छ।
मतगणनाको सुरुवातदेखि अग्रता लिइरहेका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी दोस्रो स्थानमा छन्। नेकपा एमालेका उम्मेदवार झपटबहादुर रावल तेस्रो स्थानमा आएका छन्। मतपरिणाम अनुसार बडुवालले ९ हजार ६६७ मतसहित अग्रता लिएका हुन्। नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार चौधरीले ८ हजार ५६३ मत ल्याएका छन्। एमालेका उम्मेदवार रावलको ८ हजार ३८१ मत छ। यहाँ एक लाख चार हजार ९०६ मतदाता रहेका छन् । मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा ६० हजार ६२९ मत खसेको छ।