कैलाली। कैलाली निर्वाचन क्षेत्र नम्बर- १बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छिन्। श्रेष्ठले ३० हजार ४०४ मत पाएकी छिन् भने कांग्रेसका उम्मेदवार रामजनम चौधरीले १८ हजार ८ मत मात्र पाएका छन् । कांग्रेसका चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउँदै श्रेष्ठ निर्वाचित भएकी हुन्।
यस्तै नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावलले ५ हजार ९१० मत ल्याए। कैलाली प्रदेशसभा (क) मा उन्मुक्ति पार्टीकै कैलाश चौधरी र प्रदेशसभा (ख) मा लक्ष्मणकिशोर चौधरी निर्वाचित भएका हुन् । प्रदेशसभा (१) मा १५ हजार १०१ मतसहित विजयी भएका कैलाश चौधरीले प्रतिद्धन्दी माओवादी केन्द्रका दीर्घराज विनाडीलाई चार हजार ७२४ मतान्तरले पराजीत गरेका हुन्। सत्तारुढ गठबन्धनका साझा उम्मेदवार विनाडीले १० हजार ३७७ मत प्राप्त गरेका छन्।
प्रदेशसभा (२) मा ११ हजार ३१७ मत प्राप्त गर्दै नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी विजयी हुँदा प्रतिद्धन्द्धी नेपाली कांग्रेसका डा.रणबहादुर रावलले आठ हजार ५३ मत पाएका छन् भने नेकपा एमालेका द्धारिका न्यौपानेले पाँच हजार ३२० मत प्राप्त गरे । २०७४ सालमा टीकापुर घटनामा जेल जीवन बिताइरहेका रेशम चौधरीले भूमिगत अवस्थामै ३४ हजार बढी मतले यो क्षेत्रबाट जितेका थिए । कारागारमै रहेका बेला चौधरीले केही महिना अघि मात्र श्रीमती श्रेष्ठको अध्यक्षतामा पार्टी खोलेका थिए । ३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पनि चौधरीको पार्टीले क्षेत्र नम्बर १ मा पर्ने टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकामा जितेको थियो ।