कैलाली। कैलाली कारागारका ३४ जनाले मतदान गर्न पाउने भएका छन् । जिल्ला कारागार कैलालीमा ६ सय १५ कैदी रहेकोमा ति मध्ये ३४ जनाले मात्र मतदान गर्न पाउने भएका हुन् । जिल्ला कारागार कैलालीका अनुसार ३४ जनाको मात्र मतदाता नामावलीमा नाम रहेको छ। जिल्ला कारागारका एक महिलासहित ३४ जनाले मात्र मतदान गर्न पाउने भएको जिल्ला कारागार कैलालीले जनाएको छ।
अस्थायी मतदान केन्द्रबाट सामानुपातिक मतदानको अधिकार पहिलो पटक कार्यान्वयन हुने भएपछि कैलाली कारागारका कैदीले मतदान गर्न पाउने जिल्ला कारागार कैलालीका जेलर वीरेन्द्र बोहराले बताए । कैदीहरुले कारागारकै अस्थायी मतदान केन्द्रमा मतदान गर्नेछन्। अन्य कैदीहरुको मतदाता नामावलीमा नाम छैन् । जिल्ला कारागारमा बच्चासहित ४० महिला र पाँच सय ७५ पुरुष गरी ६ सय १५ कैदी रहेका छन्।‘१०–१५ वर्षदेखि कारागारमै रहेकाहरुले मतदाता नामावलीमा नाम दर्ता गर्न नपाएको बोहराले बताए।
धनगढी उपमहानगरपालिकाको कार्यालय एक हजार आठ सय ५०, गोदावरी नगरपालिका २ वनदेवी मन्दिरमा एक सय ६, गोदावरी–४ को महादेव मन्दिरमा दुई सय २०, गौरीगंगा–६ मा एक सय ५५, गौरीगंगा–८ मा ६ सय ७३, लम्कीचुहा–३ मा २ सय ९०, टीकापुर–१ मा एक हजार एक सय ७२ र कारागारमा ३४ जनाले मतदान गर्ने भएका हुन्। प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेम भट्टले जिल्लामा ४ हजार ५ सयले मतदान गर्ने बताए। मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि मंसिर ४ गते निर्वाचन हुँदैछ।

