कैलाली। मंसिर ४ गते हुन गइरहेको आसन्न प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनमा उम्मेदवारलाई विरासत जोगाउन र तोड्न प्रतिस्पर्धा चलेको छ । निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा कैलाली क्षेत्र नम्बर २ मा उम्मेदवारलाई विरासत जोगाउन र तोड्न प्रतिस्पर्धा चलेको हो।
कैलाली–२ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा गठबन्धन र एमालेका उम्मेदवार विरासत जोगाउन र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई गठबन्धन र एमालेका उम्मेदवारको विरासत भत्काउने गरी प्रतिस्पर्धा गरिरहेका छन्। गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार भगतबहादुर बडुवाल २०६४ सालको संविधान सभा सदस्य निर्वाचित भएका थिए। नेकपा एमालेका उम्मेदवार झपटबहादुर रावल २०७४ सालको निर्वाचनमा विजयी भएका थिए।
२०६४ का विजेता बडुवाल र २०७४ का विजेता रावल आफ्ना विजयी यात्रा कायम राख्ने दाउमा हुनुहुन्छ भने २०७४ को निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभा ख मा उम्मेदवार भई पराजित भएका अरुणकुमार चौधरी यस पटक प्रतिनिधि सभामा विजय हासिल गर्न निकै कसरत गरिरहेका छन्। चौधरी २०७९ को स्थानीय तहको निर्वाचनपछि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरी प्रतिनिधि सभाको उम्मेदवार बनेका छन्।
उम्मेदवारहरू भने आफू जित्ने दाबी गरिरहेका छन्। एमाले उम्मेदवार रावल यो पाँच वर्षको अवधिका आफ्नो अगुवाइमा भएको विकास पूर्वाधार निर्माणका आधारमा मत पाउने आश गरेका छन्। गठबन्धनका उम्मेदवार बडुवाल विकासका कामहरू पूरा गर्दै समृद्धिको यात्रामा अघि बढ्न मत मागिरहेका छन् । नागरिक उन्मुक्ति उम्मेदवार चौधरी थारु पहिचानको मुद्दा अघि बढाउन र युवाको नेतृत्व स्थापित गर्न आफूले मत पाउने बताए । लम्कीचुहा नगरपालिकाका १० वडा, बर्दगोरिया गाउँपालिकाका छ वडा, मोहन्याल गाउँपालिकाका पाँच वटा र जानकी गाउँपालिकाका चार वडा गरी २५ वडा पर्दछन्।
स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्दा गठबन्धन पहिलो एमाले दोस्रो र नागरिक उन्मुक्ति तेस्रो स्थानमा छ ।।नेताहरूको राजनीतिक दल बदलले गर्दा यस पटक कैलाली २ को विजेता को बन्ला भन्ने चासोमा साथ हेरिएको छ । नेकपा एमालेका तत्कालीन कैलाली अध्यक्ष तथा प्रदेश सभा सदस्य रतनबहादुर थापा र नेपाली काँग्रेसका नेता अरुणकुमार चौधरी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकाले काँग्रेस र एमाले दुवै दलले यसअघि पाएका मध्ये केही मतहरू नागरिक उन्मुक्तितिर जाने देखिन्छ । थापा कैलाली प्रदेश सभा क बाट पुनः र चौधरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ।२०७० सालको दोस्रो संविधान सभामा भने एमालेका तर्फबाट मोहनसिंह राठौर विजयी हुनुभएको थियो राठौर अहिले नेपाली काँग्रेसमा हुनुहुन्छ । यो क्षेत्रमा २०४८ र २०५६ सालमा नेपाली काँग्रेस र २०५१ सालमा नेकपा एमाले विजयी भएको थियो । कैलाली–२ बाट प्रतिनिधि सभा सदस्यका लागि नौ जना उम्मेदवार बने पनि प्रतिस्पर्धा भने तीन जना उम्मेदवारबीच हुने स्थानीय बताउँछन् । यस क्षेत्रमा एक लाख चार हजार ९०६ मतदाता छन्


