धनगढी। मंसिर ४ गते हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनको मिती नजिकिएसँगै चुनावी चर्चा हुन थालेको छ। आसन्न निर्वाचनका लागी बिभिन्न दलका उम्मेदवारहरु प्रचारप्रसारमा बेस्त भैरहेका छन् । कैलाली क्षेत्र नम्बर १ मा पनी चुनावी चर्चा निकै चुलिएको छ । बिशेष गरी सो क्षेत्रमा रेशम चौधरीको नागरिक उन्मुक्ती पार्टि भएकाले पनी यस पटकको चुनाव रोचक हुने देखीएको छ।
कैलाली–१ मा पर्ने टीकापुर क्षेत्रमा यसपटक कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीबीच रोचक प्रतिस्पर्धा हुँदै छ । थरुहट आन्दोलनका क्रममा हिंसात्मक घटनाले चर्चामा रहेको सो क्षेत्रमा २०७४ मा २१ हजारको फराकिलो मतान्तरले टीकापुर घटनाका मुख्य दोषी रेशम चौधरीले निर्वाचन जितेका थिए । तर जनप्रतिनिधिका रूपमा उनले काम गर्नै पाएनन् । यो क्षेत्र पूरै कार्यकाल सांसदविहीन जस्तै भयो ।चौधरीले कारागारबाटै गठन गरेको नेपाल नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रहेकी उनकी श्रीमती रञ्जिता श्रेष्ठ यसपटक यही क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवार बनेकी छिन् ।
सत्ता गठबन्धनले यसअघि चारपटक जितेर पटक–पटक मन्त्री भइसकेका कांग्रेस नेता रामजनम चौधरीलाई उम्मेदवार बनाएको छ भने एमालेले टीकापुर नगरपालिकाका निवर्तमान मेयर तपेन्द्र रावललाई उठाएको छ । जातीय उत्पीडनको मुद्दासँगै रेशम चौधरीको प्रतिनिधिका रूपमा उनकै श्रीमतीलाई अगाडि सारेको नागरिक उन्मुक्ति पार्टीले गत स्थानीय तह निर्वाचनमा टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकामा जितेको छ । वडाध्यक्षहरूले पाएको मतअनुसार यहाँ नागरिक उन्मुक्ति पार्टी बलियो छ ।
नागरिक उन्मुक्तिले १७ हजार ९ सय १३ पाएको छ भने कांग्रेस र माओवादीको मत जोड्दा १७ हजार ९ सय ७४ हुन्छ । एमालेले १० हजार ३ सय ३२ मत पाएको थियो । नागरिक उन्मुक्तिले जातीय उत्पीडन, टीकापुर घटनामा निर्दोषलाई लगाइएको मुद्दा र पिछडा वर्गको अधिकारलाई मुख्य चुनावी एजेन्डा बनाएको छ । थारूबहुल क्षेत्र भएकाले पनि नागरिक उन्मुक्तिले रेशम चौधरीको विरासत जोगाउन सकिने आकलन गरेको छ । पार्टीका प्रवक्ता दामोदर पण्डितले यस क्षेत्रका मतदाता अन्यायविरुद्ध गत निर्वाचनमा जस्तै धेरै मतले आफ्ना उम्मेदवार विजयी गराउनेमा ढुक्क रहेको दाबी गरेका छन् । उनले यो लडाइँ जातीय, सामाजिक र आर्थिक रूपमा पछाडि पारिएका वर्ग र जहिले पनि शासन गर्ने वर्गका बीचको लडाइँमा परिणत भएको बताए । यस्तै सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका पूर्वमन्त्री चौधरीले ०४८, ०५१, ०५६ र ०७० मा यही क्षेत्रबाट जितेका थिए । थारू समुदायमा उनको पकड बलियो रहेको मानिन्छ ।
टीकापुर घटनालगत्तैको निर्वाचन र अहिलेको परिस्थितिमा निकै भिन्नता रहेको कांग्रेस नेताहरूको दाबी छ । कैलाली कांग्रेसका सचिव नृप सुनारले भावनात्मक रूपमा खेलबाड गरेर राजनीति धेरै लामो समय टिक्न नसक्ने यो चुनावको परिणामले देखाउने बताए । उनले गठबन्धनका उम्मेदवार चौधरी र उन्मुक्ति पार्टीबीच प्रतिस्पर्धा हुन सक्ने तर जातीय रूपमा एकपक्षीय मतदान हुन नसक्ने अनुमान गलत भएको बताए । उनले उन्मुक्तिभन्दा गठबन्धनका उम्मेदवार बलिया रहेको दावी गरे । यस्तै एमालेबाट उम्मेदवार बनेका तपेन्द्र रावल अछामबाट बसाइँ सरेको समुदायका हुन् । यस क्षेत्रमा अछामबाट झरेका मतदाताको संख्या अधिक छ । ०७४ मा यहाँ एमाले उम्मेदवार गरिमा शाहले १३ हजार र रेशम चौधरीले ३४ हजार मत ल्याएका थिए । व्यवसायी हर्क थापा जातीय आधारमा चौधरी समुदायको मत दुवै उम्मेदवारमा विभाजित हुँदाको फाइदा एमालेलाई भए पनि जित हात पार्न कठिन हुने बताए ।
उनले उन्मुक्ति र गठबन्धनभन्दा एमाले निकै पछाडि रहेको बताए । उनले भने, ‘व्यक्तित्वका आधारमा गठबन्धनका चौधरी नै बलिया देखिन्छन् तर विगतको जस्तो टीकापुर घटनाको रापले पुनः मत ध्रुवीकरण भयो भने उन्मुक्तिलाई उनले पनि रोक्न सक्दैनन् । स्थानीय तह निर्वाचनमा उन्मुक्तिप्रति देखिएको समर्थनलाई उक्त पार्टीले जोगाउन सक्छ कि सक्दैन भन्ने विषयले जित र हारको निर्णय हुने धेरै सर्वसाधारणको आकलन छ । स्थानीय तहमा यस क्षेत्रमा पर्ने जानकी, भजनी, टीकापुर र जोशीपुरमा ५ वटा वडाबाहेक सबैमा नागरिक उन्मुक्ति पार्टीले जितेको हो । भजनीका शिक्षक हरिमोहन जोशी गठबन्धनले चौधरी समुदायबाट उम्मेदवार बनाएका कारण उन्मुक्तिलाई केही असहज परिस्थिति सिर्जना भएको बताए । उनले ‘टीकापुर घटनाको राप अहिले पनि रहेको र जसले गर्दा यो क्षेत्रमा उन्मुक्तिले स्थानीय तह जितेको बताए । स्थानीय तहमा देखिएको मत ध्रुवीकरण यसपटक पनी हुन सक्ने उनको भनाई छ।कान्तीपुर/डिआर पन्त