धनगढी। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमार्फत प्रतिगामीहरूलाई परास्त गर्नुपर्ने बताएका छन् । सत्ता गठबन्धनले आज धनगढीमा गरेको सुदुरपश्चिम प्रदेशस्तरिय संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले सो कुरा बताएका हुन्। उनले सत्ता गठबन्धन एकजुट भएर चुनावमा होमिन आवश्यक रहेको बताए।
उनले भने, गणतन्त्रको रक्षा गर्न कांग्रेस र कम्युनिस्ट मिलेका हौँ। ‘म कांग्रेस हुँ, म माओवादी हुँ, म समाजवादी हुँ भनेर हुँदैन । हामी सबैले एक भएर अगाडि बढ्नुपर्छ। प्रतिगामीहरूलाई हराउँदै हामी जित्नुपर्छु, नेपालले भने।अध्यक्ष नेपालले लोकतन्त्रमाथि अझै खतरा कायम रहेको बताए। यस्तै माधव नेपालले शान्ति प्रक्रियाको १२ बुँदे सहमतिमा आफूसहित प्रचण्ड र गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेको बताए।
उनले भने, ‘जनयुद्धका क्रममा मैले माओवादीलाई भेटेर कुरा गरेको थिएँ । १२ बुँदे सहमतिमा मैले प्रचण्ड र गिरिजाप्रसादले हस्ताक्षर गरेका थियौं । कम्युनिस्ट र कांग्रेसको सहकार्य अहिलेमात्रै होइन । पुरानो हो ।’ उनले सबै कार्यकर्तालाई गठबन्धन दलको औचित्यमा प्रस्ट पारेर चुनावी अभियानमा लाग्न निर्देशन दिए। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै अझै लोकतन्त्रमाथि खतरा रहेको जिकिर गरे। अध्यक्ष नेपालले भने, ‘हामीले समयमा कदम नचालेको भए लोकतान्त्रिक संविधान जोगिने थिएन।
गणतन्त्रको रक्षा हुने थिएन । मुलुक प्रतिगमनतिर जाने थियो । सबै उपलब्धि सकिने थियो। अहिले पनि लोकतन्त्र जोखिममा छ।’उनले एमालेले संविधान विरोधीहरुसँग गठबन्धन गरेको आरोप लगाए । ‘एमाले प्रगति र परिवर्तनको बाधक भएको थियो। त्यसैले हामीले विद्रोह गरेका हौं। गठबन्धन दलका उम्मेदवारलाई जिताउन लाग्नुहोस्। मित्रवत् प्रतिस्पर्धा भएको ठाउँमा कलमलाई हेर्नुहोला। अन्य ठाउँमा गठबन्धनको उम्मेदवारलाई जिताउनु होला’, उनले भने। प्रतिगामी शक्तिलाई पराजित गर्न एकजुट हुनसमेत उनले आह्वान गरे। भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि धनगढी पुगेका थिए।