काठमाडौं। जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले करिब ५० लाख थान मतपत्र छपाइ कार्य सकेको छ । केन्द्रका प्रवक्ता चित्र आचार्यले दिएको जानकारीअनुसार हालसम्म करिब ५० लाख थान मतपत्र छपाइ पूरा भएको छ । केन्द्रले आइतबार दिउँसो कर्णाली प्रदेशका ८ जिल्लाको मतपत्र छपाइ सकेर आइतबार रातीबाट सुदूरपश्चिम प्रदेशको मतपत्र छपाइ शुरू गरेको जनाएको छ ।
कार्तिक २० गतेसम्म केन्द्रले साढे ४ करोड मतपत्र छपाइ गर्ने जनाएको छ । निर्वाचन आउन ३४ दिन बाँकी हुँदा केन्द्रले कर्णालीको मतपत्र छाप्न सकेर सुदूरपश्चिमको शुरू गरेको हो ।प्रत्यक्षतर्फको फरकफरक उम्मेदवारले पाएका चिह्नको आधारमा मतपत्र छपाइ गरिनेछ। सुदूरपश्चिमको छपाइ पूरा गरेपछि आयोगले पठाएको डिजाइनको आधारमा अन्य प्रदेशको मतपत्र छपाइ शुरू गर्ने केन्द्रले जनाएको छ ।केन्द्रको सुरक्षण मुद्रणालयमा मतपत्र छपाइ भइरहेको छ। मतपत्रको छपाइको अवस्थाबारे जानकारी लिन शनिबार प्रमुख आयुक्त दिनेशकुमार थपलिया, आयुक्तलगायतको टोली केन्द्र पुगेको थियो।
केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले आयोगका पदाधिकारीलाई छपाइको अवस्थाबारे जानकारी गराउँदै भन्नुभएको थियो– ‘आयोगले दिएको समयसीमाभन्दा अघि नै छपाइ सक्नेगरी तयारी गरिरहेका छौं ।’ उहाँका अनुसार करिब २ सय कर्मचारीले २४ सै घण्टा छपाइ जारी राखेका छन् ।आयोगले एक साताअघि सबै मतदान केन्द्रमा मतपत्र पु¥याउनेगरी तयारी थालेको थियो । छपाइ भएको मतपत्र केन्द्रमै प्याकिङ हुने र त्यहीँबाट ढुवानी गर्ने व्यवस्था गरिएको छ । आयोगले हाल समानुपातिक तर्फको मतपत्र ढुवानी गरिरहेको छ ।
त्यसै गरी देशभर प्रत्यक्षतर्फ २ हजार ४ सय १२ र प्रदेशतर्फ ३ हजार २ सय २४ उम्मेद्ववारको नामसहित मतपत्र छपाइ हुनेछ । करिब ३ दिनभित्र सुदूरपश्चिमको छपाइ सकेपछि आयोगले पठाएको डिजाइनको आधारमा केन्द्रले अन्य प्रदेशको मतपत्र छपाइ शुरू हुनेछ । निर्वाचन आयोगले तीन तहको सुरक्षा घेराभित्र मतपत्र छपाइ भइरहेको जानकारी दिँदै करिब तीन साताभित्र प्रत्यक्षतर्फको मतपत्र छपाइ गर्ने बताएको छ ।