कैलाली। आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनकालागी आईतबार बिभिन्न राजनितीक दल तथा स्वतन्त्रबाट उमेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । जस अनुसार सुदुरपश्चिममा प्रदेशसभा निर्वाचनका लागी पनी बिभिन्न राजनितीक दलका उमेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन्।
उमेदवारहरुले उम्मेदवारी दर्ता गराएपछि स्वभातः सुदुरपश्चिममा मुख्यमन्त्री को होलान भनेर चाँसो बढ्न थालेको छ। सुदूरपश्चिममा मुख्यमन्त्रीका आकांक्षी रुपमा नेकपा माओवादी केन्द्रबाट खगराज भट्ट, नेपाली कांग्रेसबाट रणबहादुर रावल तथा नेकपा एमालेबाट राजेन्द्र रावललाई हेरिएको छ। सुदूरपश्चिममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य खगराज भट्ट मुख्यमन्त्रीका सम्भावित उम्मेदवार हुन् । कांग्रेसबाट केन्द्रीय सदस्य रणबहादुर रावल र एमालेबाट पोलिटब्युरो सदस्य राजेन्द्र रावल मुख्यमन्त्रीका आकांक्षी हुन्। एमालेका रावलको नाम समानुपातिकतर्फ १ नम्बरमा छ।
आगामी मंसिर ४ मा हुने संसदीय निर्वाचनमा बहालवाला मुख्यमन्त्रीले भने टिकट पाएनन् । सुदूरपश्चिम प्रदेश सरकारको पूर्ण कार्यकाल नेतृत्व गरेका त्रिलोचन भट्ट आगामी निर्वाचनमा माओवादी केन्द्रबाट प्रतिनिधिसभातर्फ लड्न चाहन्थे । एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीबाट उनको नाम प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिफारिस भएको थियो । तर सत्ता गठबन्धनका तर्फबाट डोटीमा एकीकृत समाजवादीका प्रेमबहादुर आलेले टिकट पाए । एकीकृत माओवादीले मुख्यमन्त्री भट्टलाई प्रदेशसभातर्फ डोटी ख मा उम्मेदवार बनाउने निर्णय गर्यो । तर मनोनयनअघि नै आइतबार माओवादी केन्द्रले उक्त क्षेत्रमा उनकै स्वकीय सचिवसमेत रहेका जिल्ला इन्चार्ज शिवसिंह वलीलाई टिकट दिएको छ, जसका कारण भट्टका लागि यस पटक संसद्मा जाने बाटो बन्द भयो ।
डोटी ख मा उम्मेदवार सिफारिस भएका माओवादी नेताहरू मीनबहादुर घर्ती मगर र प्रेम कुँवरले आइतबार प्रेस विज्ञप्तिमार्फत पार्टीले मुख्यमन्त्री भट्टको घोर अपमान गरेको उल्लेख गर्दै वलीको उम्मेदवारीलाई अस्वीकार गर्ने जनाएका छन् । ‘हामी दुई जनाले आफ्नो दाबीलाई छाडेर मुख्यमन्त्री भट्टलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउन सहमति दिएका थियौं, पार्टी केन्द्रीय कार्यालयबाट पनि भट्टको नाममा निर्णय भएको खबर आएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर अन्तिम समयमा अन्य व्यक्तिलाई टिकट दिने काम भयो, यसमा हाम्रो आपत्ति छ।’