काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हत्याको अभियोगमा जेलमा रहेका रेशम चौधरीसँग भेट गरेका छन् । शुक्रबार डिल्लीबजार कारागार पुगेर अध्यक्ष नेपालले नागरिक उन्मुक्ति पार्टीका नेतासमेत रहेका चौधरीलाई भेटेका हुन् । अध्यक्ष नेपालका अनुसार भेटमा चौधरीले आफूमाथि राजनीतिक व्यवहार नरिएको गुनासो गरेका थिए ।
उनले त्यसैअनुसार आफ्नो बस्नेसहितको व्यवस्थापन नभएको भन्नेमा गुनासो रहेको थियो,नेपालले भने, सरकारले छाड्ने सहमति गरेको तर त्यसको कार्यान्वयन नगरेकोमा गुनासो रहेको थियो ।अध्यक्ष नेपालले चौधरीलाई भने, ‘तपाईँ राजबन्दी हो, तपाईँमाथि अन्याय भएको छ, यो विषयमा म प्रधानमन्त्रीसँग कुराकानी गर्छु ।’ कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको घटनाका मुख्य योजनाकार मानिएका चौधरीले डिल्लीबजारस्थित कारागारमा सजाय काटिरहेका छन्।
चौधरी चार वर्षदेखि डिल्लीबजार कारागारमा बन्दी छन् ।चौधरी र नेपालबीचको भेटघाटलाई चुनावी भेटघाटको रुपमा लिइएको छ । उनीहरुबीच चुनावी तालमेलबारे समेत कुरा भएको बताइएको छ । यसै गरी विहीबार पूर्व सांसद जनकराज चौधरीले कारागारमा पहिलो पटक रेशम चौधरीलाई भेटेका छन् ।