काठमाडौँ। आगामी निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी मुख्यालय सानेपामा धर्ना दिएका छन् । समानुपातिक उम्मेदवारबारे बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक चलिरहँदा सानेपास्थित पार्टी कार्यालयमा कोइराला समूहका नेताहरूले धर्ना सुरु गरेका हुन्।
‘हामी पार्टीको विरुद्धमा छैनौं । हामीले पार्टीभित्र न्याय मागेका हौं। अन्याय सहँदैनौं भनेर विरोध गरेका हौं‚’ धर्नामा सहभागी हुँदै गर्दा कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने‚ ‘त्यसैले हामी प्ले(कार्ड बोकेर नाराबाजी गर्दैनौं । धर्ना पूर्ण रूपमा मौन छ ।’सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमा प्रतिस्पर्धा गर्ने र आफूलाई मत नहालेकै आधारमा चुनावमा टिकट नदिने नीति लिएर एकलौटी गरेको कोइराला समूहको आरोप छ ।सोमबार बसेको गुटको बैठकले पार्टीभित्रको एकता, समान अवसर र न्यायको सुनिश्चतता नभए संघर्ष गर्ने निर्णय गरेको थियो। उनीहरुले तत्काल समानुपातिक उम्मेदवारको बन्द सूची सच्याउन माग गरेका छन् भने प्रत्यक्षतर्फ टिकट वितरणमा समेत सबैलाई न्याय हुने गरी उम्मेदवार चयन हुनुपर्ने माग गरेका छन् । हाल निर्वाचन आयोगमा कांग्रेसले बुझाएको सूचीमा कोइराला समूहका करिब १० प्रतिशत नेताहरु मात्रै परेका छन्। प्रत्यक्षतर्फ समेत टिकट वितरणमा सोही खालको व्यवहार हुनसक्ने भयले कोइराला समूह त्रसित छ। नेता कोइरालासहित पार्टीका पदाधिकारी रहेका कोइराला समूहका नेताहरू भने आन्दोलनका कार्यक्रममा सहभागी भएका छैनन्। दोस्रो तहका नेताहरूले भने निरन्तर विरोधका कार्यक्रम गर्दै आएका छन्।