धनगढी : सुदूरपश्चिम प्रदेशसभाका अधिकांश पदाधिकारीले गाडीलगायतका सुविधा फिर्ता गरेका छैनन् । समानुपातिक तर्फको मनोनयन भएसंगै कार्यकाल सकिएका पदाधिकारीहरुले अँझै आफुले पाएका गाडी, ल्यापटप, किताब लगायतका सुबिधा फिर्ता गरेका छैनन् । निर्वाचन आयोगले असोज १ गते कार्यकाल सकिएको बताए लगत्तै कसैले नैतिकता देखाउँदै गाडी लगायतका सुबिधा फिर्ता गरेपनि अधिकाशंले फिर्ता गरेका छ्रैनन् ।
सुदूरपश्चिम प्रदेश सभामा सभामुख, उपसभामुखसहित ११ सांसदले गाडी सुविधा पाएका थिए । सभामुख र उपसभामुखको कार्यकाल भने बाँकी नै छ । त्यस्तै, ५२ सांसदले ल्यापटप सुविधा पाएकोमा ६ जनाले मात्रै फिर्ता गरेको प्रदेश सभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सार्वजनिक लेखा समितिका सभापति कुमारीनन्दा बम, अर्थ विकास तथा प्राकृतिक स्रोत साधन समितिका सभापति हर्कबहादुर कुँवर, सामाजिक विकास समितिका सभापति कुन्ती जोशी र विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले पनि गाडी फिर्ता नगरेका सचिवालयले जनाएको छ । त्यस्तै, प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह, माओवादी संसदीय दलका प्रमुख सचेतक अक्कलबहादुर रावल, कांग्रेस प्रमुख सचेतक अम्बिकुमारी थापा र एकीकृत समाजवादीका प्रमुख सचेतक दुर्गाकुमारी कामीले पनि गाडी फिर्ता गरेका छैनन् ।
केही सांसदहरुले भने निर्वाचन आयोगले कार्यकाल सकिएको बताएलगत्तै सुबिधा फिर्ता गरेका छन् । गाडी सुबिधा लिएकामध्ये एमाले प्रमुख सचेतक लीलाधर भट्टले मात्रै फिर्ता गरेका छन् । यस्तै ल्यापटप फिर्ता गर्नेमा भट्टसहित वीरमान चौधरी, महेशदत्त जोशी, हर्कबहादुर कुँवर, कृष्णराज सुवेदी र सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा छन् । ल्यापटप फिर्ता गर्न संसद सचिवालय पुगेका पुर्व मन्त्री कृष्णराज सुवेदीले राजनिति गर्ने मान्छेले नैतिकवान बन्नुपर्ने बताउँदै पाएको सुबिधा फिर्ता गर्न पुगेको बताए ।
तर धेरै प्रदेशसभा सदस्यहरु अँझै कार्यकाल नसकिएको भन्दै सुबिधा लिइरहेका छन् । पाँच बर्षे कार्यकाल संबिधानले तोकेको भन्दै उनिहरुले सुबिधा लिइरहेका हुन् । कतैबाटपनि स्पस्ट जानकारी नभएकै कारण सुबिधा फिर्ता नगरेको कतिपय प्रदेशसभा सदस्य तथा पदाधिकारीहरुको भनाई छ ।