काठमाडौँ। डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ। ७ बुँदे मागसहित अनशनमा बसेका डा. केसीसँग सरकारको वार्ता टोलीका सदस्यहरूले शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगेर सहमतिपत्रमा हस्ताक्षर गर्नेछन्। शनिबार साढे ७ बजे शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा. केसीले अनशन तोडेको घोषणा गर्ने उनका सहयोगी तथा वार्ता टोलीका सदस्य प्रितम सुवेदीले जानकारी दिए ।
शनिबार दिउँसो पनि डा. केसीको पक्षमा माइतीघरमा पनि प्रदर्शन भएको थियो। पछिल्लो पटक कैलालीबाट अनशन सुरु गरेका डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई असोज ५ गते थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। उनी अहिले पनि महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचाररत छन्। केसीका माग सम्बोधन गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो। वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव रोशन पोखरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सदस्य छन् ।
केसी पक्षको वार्ता टोलीमा भने अधिवक्ता ओमप्रकाश अर्याल, डा। लिजन महर्जन र सुवेदी सदस्य छन् । डा. केसीले भदौ २७ गते धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह सुरु गरेपछि सरकारले उनीसँग सहमति गर्न वार्ता टोली बनाएको हो। देशभरका सरकारी अस्पतालमा बेडअनुसार दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धिअनुसार अस्पतालरस्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्स-रेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै निःशुल्क औषधिहरु उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराईपर्ने माग अघि सारेका छन् । २०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने, गेटा मेडिकल कलेज तत्काल संचालन गरिनुपर्ने उनको माग छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन, विश्वविद्यालय प्रतिष्ठानमा मापदण्ड विपरीतका नियुक्ति खारेजी, मापदण्डविपरीत नर्सिङ कलेजमा लिन लागिएको भर्ना रोक्नुपर्नेलगायत माग सरकारसँग उनले राखेका छन् ।