कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सडक अतिक्रमण हटाउने सुरु गरेको छ। नगरपालिकाले पुर्व पश्चिम राजमार्ग संगै जोडिएको गुलरिया बजारमा सडक अतिक्रमण गरी बनाएका खोका, छाप्राका संरचना हटाउन सुरु गरेको हो।सडकमा अतिक्रमण गरेर बनाएका संरचना हटाउन नगरपालिकाका मेयर हेमराज ओझा र उपमेयर द्रोपती राना डोजर सहित आफै सडकमा खटिएका छन।
नगरपालिकाले राजमार्गको दाँयाबाँया २५ मिटर क्षेत्रमा निर्माण गरिएका खोका, छाप्रा लगायतका संरचना हटाउन लागेको जनाएको छ। गुलरिया बजारको सडक क्षेत्रमा पर्ने रहेको इलाका प्रहरी कार्यालय गुलरियाको चेक पोष्ट हटाएर अतिक्रमण हटाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ। हाल राजमार्ग छेउमा रहेको बनदेवी मन्दिर देखि गुलरीया चोक सम्मका सडक अतिक्रमण हटाउने काम भइरहेको छ। सडक अतिक्रमण हटाउन ७ दिने सूचना निकालेका थियौ।सूचनाको म्याद सकिएपछि नगरपालिका मार्फत अतिक्रमण हटाउन सुरु गरिएको मेयर हेमराज ओझाले बताए। अहिले अतिक्रम हटाउने क्रममा कुनै अवरोध भएको छैन ।’ उनले ७ दिने सूचनाकै आधारमा कृष्णपुर नगरपालिका भित्रका सबै ठाउँमा भएको अतिक्रमण हटाइने बताए। गुलरिया बजारका सडक किनारामा खोका, छाप्रा राखेर व्यापार गर्ने सडकमा अतिक्रमण गरेर संरचना बनाउने क्रम बढ्दै गएको छ । नगरपालिकाले बजारलाई व्यवस्थित बनाउन अतिक्रमण हटाउने कार्य भैरहेको हो ।