धनगढी : सोमबार नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले सुदूरपश्चिम भेला गर्ने भएको छ। आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै सङ्गठनले सोमबार प्रादेशिक भेला गरिने बताएको हो।
काठमाडौँमा १० औँ सम्मेलन सम्पन्न भएपछि पहिलो पटक प्रादेशिक भेला आयोजना गर्न लागिएको बताइएको छ। सोमबार बिहान १० बजेबाट कैलाली बहुमुखी क्याम्पसको सेमिनार हलमा भेला हुने कार्यक्रम रहेको नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज मानबहादुर जोराले बताए।
भेलाको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले गर्नेछन्। २०३७ सालमा प्रगतिशील तथा बाम विचार राख्ने प्राध्यापकहरूको सक्रियतामा न्युक्लिअस नामबाट नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको स्थापना भएको थियो।
सम्मेलनको उद्घाटन सत्रमा नेपाली अर्थतन्त्रका पछिल्ला परिदृश्यहरू विषयक विचार गोष्ठी र दोस्रो सत्रमा प्रदेश सम्मेलन सम्पन्न हुनेछ। सम्मेलनका लागि केन्द्रीय सदस्यहरू र प्रदेश समितिका सदस्यहरूलाई प्रतिनिधि छनोटमा सहजीकरण गर्ने जिम्मेवारी तोकिएको बताइएको छ।