काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गतेको चुनाव निष्पक्ष हुने प्रतिबद्धता जनाएका छन्। शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्दै देउवाले आउँदो चुनाव निष्पक्ष गर्ने प्रतिबद्धता सरकारका तर्फबाट जनाएका हुन्। उनले चुनावका लागि निर्वाचन आयोगलाई पूर्ण रुपमा सहयोग गर्ने बताए। देउवाले भने, ‘मंसिर ४ गते सरकारले निष्पक्ष रुपमा चुनाव गराउँछ। आयोगलाई सरकारले पूर्ण रुपमा सहयोग गर्छ।’
प्रतिनिधिसभा कार्यकालको अन्तिम दिन प्रधानमन्त्रीका रुपमा देउवाले सम्बोधन गरेका हुन्। उनले केपी ओलीले दुईपटक संसद विघटन गर्दा पनि कार्यकाल पूरा गरेकोमा खुशी व्यक्त गरे। उनले परमादेशका कारण सरकार मात्रै नभइ संसद पनि त्यहीँ बाटोबाट आएको स्मरण गरे। संसद पुनःस्थापना भएकाले नै ओलीसँग मिलेर सँगै काम गर्न पाएको भन्दै व्यंग गरे।
‘गणतन्त्र आएपछि पहिलोपटक संसदले विघटनको सामाना गर्नुपर्यो। संसद संविधान बमोजिम चल्यो। सरकार मात्रै होइन, संसद पनि परमादेशबाट आएको हो, जसले गर्दा हामीले सँगै मिलेर काम गर्न पायौँ, भेट्न पायौँ’, देउवाले भने। उनले आफ्नो नेतृत्वमा सरकार बनेपछि अन्तर्राष्टिय सम्बन्ध सुधार गरेको र संविधान कार्यान्वनयका लागि काम गरेको दाबी गरे।उनले भने, ‘मेरो कार्यकालमा नागरिकताबिहीन नागरिकतालाई नागरिकता दिने, एनआरएनलाई नागरिकता दिने गरी नागरिकता विधेयक पास भएको छ। नेपालले अन्तर्राष्ट्रिय रुपमा बहुपक्षीय अन्तर्राष्टिय सम्बन्धनलाई मजबुद बनाएको छु।’

