दार्चुला। दार्चुलामा भदौ २४ गते राति बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ । घटना भएको आठ दिन बित्दा पनि बेपत्ता भएकाहरु फेला नपरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले बेपत्ता भएकाहरुको खोजीकार्य जारी नै राखेको भए पनि भेटिने आशा मरिसकेको बताएका छन्।
शुक्रबार रातिको अविरल वर्षाले दार्चुलामा पाँच जनाको मृत्यु हुनुका साथै १० जना बेपत्ता र आठ जना घाइते भएका थिए । बाढीले दुई वटा विद्यालय भवन, डुङरी मन्दिर र विद्युतको पावरहाउस, लास्कु खोलाको एउटा मोटरेबल पुल, विभिन्न स्थानमा गरी चार वटा झोलुङ्गे पुल, बंगाबगरमा पार्किङमा राखेका नौ वटा सवारीसाधन बगाएको थियो । दार्चुलामा हालसम्म १७० घरमा क्षति भएको प्रहरीको तथ्याङ्क छ । ६६ घर पूर्णरुपमा ध्वस्त भएका छन् । ९७ घर जोखिममा छन्। अन्य ७ वटा घर आंशिक जोखिममा रहेको प्रहरीले जनाएको छ । ठूलो जनधनको क्षति व्यहोरेका बाढीपहिरो पीडितले समयमै राहत नपाएको भन्दै गुनासो गरिरहेका छन् ।
दार्चुलाको बाढी पहिरोले ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारको तर्फबाट प्रति परिवार एक लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय भएको छ । प्रदेश सरकारले राहत रकम पठाइसकेको जनाए पनि हालसम्म वितरण हुन सकेको छैन। छिट्टै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी पीडित परिवारलाई राहत रकम वितरण हुने सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिए। सङ्घीय सरकारबाट समेत प्रतिमृतकको परिवारलाई प्रशासन कार्यालयमार्फत दुई लाख रुपियाँ राहत उपलब्ध गराउने कार्यविधि छ । एकै घरका एकभन्दा बढीको ज्यान गएमा प्रतिमृतक थप एक लाख रुपियाँका दरले राहत उपलब्ध गराउने सङ्घीय सरकारको कार्यविधि छ।
तर हालसम्म सङ्घीय सरकारले दार्चुलाका बाढीपहिरो पीडितलाई विशेष राहत दिने औपचारिक निर्णय गरेको छैन । कार्यविधिअनुसार पाउनुपर्ने रकम पीडितले समयमै नपाउने अवस्था छ। नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन र पीडितसँग भेटघाट गरेर राहत उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे। विभिन्न सङ्घ, सङ्गठन र नागरिकहरुले भने बाढीपहिरो पीडितलाई राहत सङ्कलन गरेर वितरण गरिरहेका छन्। बाढीपहिरो पीडितलाई राहत वितरणमा सरकारी पक्षबाट ढिलाइ भइरहेको स्थानीय चक्रबहादुर बमले बताए।गोरखापत्रबाट