दार्चुला। दार्चुलामा बाढीले पुल बगाएर दुँहु र व्याँसको सम्पर्क विच्छेद भएपछि लास्कु खोलामा अस्थायी पुल निर्माण गरिएको छ। भदौ २४ गते राति आएको बाढीले पुल बगाएपछि दुँहु र व्याँस गाउँपालिकासंगको सम्पर्क विच्छेद भएको थियो। अस्थायी पुल निर्माण भएपछि दुवै गाउँपालिकाबीच आवतजावतमा सहज भएको हो।
बाढीले पुल बगाएको ६ दिनपछि लास्कु खोलामा अस्थायी काठेपुल निर्माण गरिएको हो। बाढीले सदरमुकामसँग जोड्ने लास्कु पुल बगाएसँगै महाकाली नगरपालिकाका केही बस्तीका साथै दुँहु र व्याँस गाउँपालिकाको बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो । सुरक्षाकर्मीसँगै महाकाली नगरपालिकाको पहलमा उक्त अस्थायी काठेपुल निर्माण भएको हो। काठेपुल निर्माण भएपछि अहिले आवतजावतमा सहजता भएको स्थानीयहरुले बताएका छन् ।