कन्चनपुर। आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सत्तागठबन्धनका पाँच दलबीच सिट बाँडफाँडमा सहमति जुटेको छ। तीन संघीय निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा नेकपा (माओवादी केन्द्र) ले एक र नेपाली कांग्रेसले दुई क्षेत्र पाउने सहमति भएको छ।
माओवादी केन्द्रले क्षेत्र नम्बर १ तथा कांग्रेसले क्षेत्र नम्बर २ र ३ पाउने सहमति भएको नेताहरूले बताएका छन्। माओवादी केन्द्रले क्षेत्र नम्बर १ बाट पार्टी पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री विना मगरलाई एकल सिफारिस गरेको छ। उक्त निर्वाचन क्षेत्रमा गठबन्धनका तर्फबाट माओवादी नेतृ मगर संघीय चुनाव लड्ने निश्चित भएको छ। यता, कांग्रेसबाट क्षेत्र नम्बर २ मा तीन र क्षेत्र नम्बर ३ मा दुई नेता सिफारिस भएका छन्।
क्षेत्र नम्बर २ बाट पूर्वमन्त्रीसमेत रहेका एनपी साउद, निवर्तमान जिल्ला सभापति हरिप्रसाद बोहरा र नेता प्रेम बलायर तथा क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री रमेश लेखक र गणेश सिंह नेगी सिफारिस भएका छन्। क्षेत्र २ बाट साउद र ३ बाट लेखकले टिकट पाउने पक्कापक्की भएको नेताहरुले बताएका छन्। संघका तीन सिट बाँडफाँडमा सहमति गरेको गठबन्धनले प्रदेशका ६ सिटसमेत टुंग्याउन तयारी गरेको छ। प्रदेशमा एकीकृत समाजवादीले दुई, माओवादीले चार र कांग्रेसले पाँच प्रादेशिक निर्वाचन क्षेत्रमा दाबी गरेका छन्।