कैलाली। कैलालीको गोदावरी नगरपालिकाका ३४५ जना अव्यवस्थित बसोबासिले लालपुर्जा पाउने भएका छन् । राष्ट्रिय भूमि आयोग मार्फत नगरपालिकाले उनीहरुको जग्गा नापी गरेर अन्य प्रक्रिया पुरा गरिसकेकोले सो प्रक्रिया अन्तिम चरणमा पुगेको हो। गोदावरी नगरपालिका वडा नम्बर १ का २२३ र वडा नम्बर ५ का १२२ कित्ता गरी ३४५ कित्ता जग्गाको नापी गरेर दस्तुर समेत तोक्ने काम सकिएको छ ।
राष्ट्रिय भूमि आयोग कैलालीले दस्तुर तोकेपछि भदौ ११ गते १५ दिने सूचना निकालेर दस्तुर माथि चित्त नबुझेमा निवेदन दिन आग्रह गरेको थियो ।राष्ट्रिय भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले सो समय समेत सकिएकाले अब अन्तिम पटक थप १५ दिने सूचना निकालेर लालपुर्जा वितरण सुरु गरिने बताए। यसअघि दस्तुर माथि चित्त बुझे नबुझेको बारेमा निकालिएको सूचनामा दस्तुर बढी भएको गुनासो मौखिक रुपमा आएपनि लिखित रुपमा भने ५र६ जनाको मात्रै निवेदन आएको नगरपालिकाका अमिन रधुनाथ जोशिले बताए ।
हाल गोदावरीमा जग्गा नापी भएका क्षेत्रका बासिन्दालाई लालपुर्जा दिने काम दिने प्रक्रिया अगाडी बढेकाले थप नापिको काम भने रोकिएको छ । हालसम्म नगरपालिकामा गोदावरी नगरपालिका वडा नम्बर १ का चैतन्यपुर, बिजौरा, बरपिपल टोल, पृथ्वीनगर, श्रीजनसिल टोल, डाँडा टोल, आरती टोल, वडा नम्बर २ को महरा कटान र वडा नम्बर ५ पुरैमा नापीको काम सकिएको छ । नगरपालिकामा हाल नापीका लागि ९ जना सर्बेक्षक र ९ जना अमिन परिचालन गरिएको छ । हाल नगरपालिकामा १२ जना लगत प्रविष्ठकर्ताले लगत संकलन गरिएका फारम इन्ट्रि गर्ने काम गरिहेका छन ।