दार्चुला। नेकपा माओवादी केन्द्रको युवा सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसीएल) ले दार्चुलाका बाढी पहिरो पीडितका लागि राहत सामाग्री हस्तान्तरण गरेको छ । वाइसीएलका केन्द्रीय सचिव शिव बोगटीले बाढी पहिरो पीडित परिवारका लागि राहत सामग्री र नगद रु एक लाखको चेक हस्तान्तरण गरिएको बताए ।
सोमवार जिल्ला विपद् व्यवस्थापन समिति दार्चुलालाई राहत सामग्री र नगद चेक हस्तान्तरण गरिएको हो ।बोगटीका अनुसार कम्बल १०० थान, टेन्ट सिट १६ थान, पिफर्म कार्पेट १ बन्डल, बाल्टिन २० थानका साथै नगद रु १ लाखको चेक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई हस्तान्तरण गरिएको छ ।उक्त रकमसहित सामग्री जिल्ला विपद् व्यवस्थापन समितिले पीडित परिवारलाई वितरण गर्नेछ ।राहत वितरणका लागि वाइसीएलका केन्द्रीय सचिव शिव बोगटी, केन्द्रीय सदस्य डबल खाती, बसन्त सिंह कार्की लगायत विभिन्न जिल्लाका जिल्ला कमिटी पदाधिकारी दार्चुला पुगेका थिए ।