कञ्चनपुर। आसन्न मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागी कञ्चनपुरमा पनी तयारी तिब्र पारिएको छ। जिल्लामा यतिबेला राजनीतिक दलका नेता तथा कार्यकर्ता चुनावी अभियानका क्रममा उम्मेदवार सिफारिस तथा छनोटको कार्यमा जुटेका छन् । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा कञ्चनपुरमा अहिलेसम्म कांग्रेस र एमालेले प्रतिनिधिसभाका तीनवटै र प्रदेशका ६ वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेका छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादी छलफलमा रहेका छन् । तर पनी मुख्य दलहरूले भने विगतमा उम्मेदवार भइसकेका तथा सांसद भइसकेकाहरूलाई नै सिफारिस गरेका छन् । प्रतिनिधिसभामा तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कांग्रेसले क्षेत्र नं. १ मा दिवान विष्ट, २ मा एनपी साउद, हरि बोहरा र खेम बलायर तथा क्षेत्र नं. ३ मा रमेश लेखक र प्रेम विष्टको सिफारिस भएको जिल्ला सचिव भीम भट्टले बताए । क्षेत्र नं. १ मा सिफारिस भएका विष्ट यसअघि संविधानसभा सदस्य भइसकेका थिए र अघिल्लो निर्वाचनमा पराजित भएका हुन् ।
साउद र लेखक पनि सांसद र मन्त्री भइसकेका छन् । बोहरा र विष्ट नयाँ अनुहार हुन् । एमालेले क्षेत्र नं. १ मा तारालामा तामाङ, वीरबहादुर थापा र खेम सुवेदीलाई सिफारिस गरेको छ । २ मा नरबहादुर धामी र वचनबहादुर सिंह तथा ३ मा निरुदेवी पाल र दीपक प्रकाश भट्ट सिफारिस भएका छन् । तामाङ प्रदेशसभा सदस्य र थापा तथा सुवेदी नयाँ अनुहार हुन् । क्षेत्र नं. २ मा सिफारिस भएका मध्ये धामी वहालवाला सांसद हुन् । उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । सिंह नयाँ अनुहार हुन् । क्षेत्र नं. ३ मा सिफारिस भएका पाल र भट्ट पनि पुरानै अनुहार हुन् । उनीहरू दुवै बहालवाला सांसद हुन्। भट्ट अघिल्लो निर्वाचनमा निर्वाचित भएका थिए । पाल समानुपातिक सांसद हुन् ।
प्रदेशसभातर्फ पनि दुवै पार्टीमा पुरानै अनुहार देखिएका छन् । कांग्रेसले हरेक क्षेत्रमा ७/८ जनाको नाम सिफारिस गरेको छ । केही क्षेत्रमा भने एकल नाम पनि सिफारिस भएको छ । क्षेत्र नं। २ (ख) बाट बहादुर सिंह थापा सर्वसम्मत सिफारिस भएका छन् । उनी यसअघि संविधानसभा सदस्य रअघिल्लो निर्वाचनमा प्रदेशसभा सदस्यमा पराजित भएका थिए । निर्वाचन क्षेत्र नं. २ (क) मा पुष्करनाथ ओझालगायतको नाम सिफारिस भएको छ । ओझा अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा पराजित भएका हुन् । क्षेत्र नं. ३ को क बाट यज्ञराज जोशी र ख बाट बेलबहादुर रानालगायतको नाम सिफारिस भएको सचिव भट्टले बताए । जोशी र राना दुवै अघिल्लो निर्वाचनमा पराजित भएका हुन् । एमालेले क्षेत्र नं.२ (ख) कृपाराम राना र क्षेत्र नं. ३ (ख) बाट सुरेन्द्र विष्टको नाम सर्वसम्मत सिफारिस गरेको छ। राना संविधानसभा सदस्य थिए । विष्ट एमाले कञ्चनपुरका अध्यक्ष र भीमदत्त नगरपालिकाका निवर्तमान प्रमुख हुन् । अन्य क्षेत्रमा पनि यसअघि चुनाव लडेका अनुहार नै देखिएको रहेको पाइएको छ।