देशव्यापी रुपमा सञ्चालन भएको भ्रष्टाचार विरुद्धको कार्टुन चित्र प्रदर्शनी धनगढीमा समापन भएको छ । शुक्रबार र शनिबार दुई दिनको प्रदर्शनीसँगै देशव्यापी अभियान समापन भएको हो । नेपाल पत्रकार महासंघको एसोसियट संगठन कार्टुनिष्ट क्लब नेपालले देशका सातवटै प्रदेशमा भ्रष्टाचार विरोधी व्यंग्यात्मक तथा सचेतनामूलक कार्टुन चित्र प्रदर्शनी अभियान सञ्चालन गरेको थियो ।
संघीय संसदका सभामुख अग्नी सापकोटाले काठमाडौंमा उद्घाटन गरेको अभियानको अन्तिम तथा सुदूरपश्चिम संस्करण प्रदेश सभाका उपसभामुख निर्मला जोशीले उद्घाटन गरेकी थिइन् । शुक्रबार उद्घाटन भएको प्रदर्शनी शनिबार समापन भएको छ । प्रदर्शनीमा देशका प्रसिद्ध ३५ कलाकारका ५० बढी व्यंग्यचित्र प्रदर्शनीमा राखिएका थिए । साथै स्थानीय विद्यालय तथा कलेजका केही विद्यार्थीका सृजनात्मक चित्रहरू पनि प्रदर्शनीमा सहभागी गराइएको थियो ।
धनगढीमा सञ्चालन भएको कार्यक्रममा प्रख्यात कार्टुनिष्टहरु अबिन, बासु क्षितिज, देवेन्द्र थुम्केली लगायत राष्टका वरिष्ठ कार्टुनिष्टहरुको उपस्थिति रहेको थियो भने स्थानीय कलाकर्मीहरुको पनि सहभागीता रहेको थियोे । धनगढीका विभिन्न विद्यालय, क्याम्पसका विद्यार्थीहरु, राजनीतिकर्मीहरु, शिक्षक प्राध्यापक, कर्मचारी, सामाजिक संघसंस्था सम्बद्ध व्यक्तिहरु लगायतले व्यंग्यचित्र अवलोकन गरेका थिए ।
कार्यक्रमको समापनमा बोल्दै कान्तिपुर दैनिकका वरिष्ठ कार्टुनिष्ट अविनले सुदूरपश्चिममा पुगेर प्रदर्शनीमा सहभागी हुँदा आफुहरुलाई नितान्त नयाँ अनुभव भएको बताए । कार्टुनिष्ट क्लवका अध्यक्ष बासु क्षितिजले आफुहरु आगामी दिनमा वार्षिक योजना अनुरुप निरन्तर सुदूरपश्चिम आउन चाहेको बताए । क्लबका अध्यक्ष देवेन्द्र थुम्केलीले अभियानको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रम अवलोकनकालक्रममा धनगढी उपमहानगरका प्रमुख गोपाल हमालले राष्ट्रका धेरै अभियानहरु कर्णाली पारीबाटै फर्किने र सुदूरपश्चिमलाई देश नै नठान्ने गरेकामा कार्टुनिष्ट क्लवको अभियान सुदूरपश्चिमसम्म पुगेको भन्दै प्रशंसा गरेका थिए । आगामी दिनमा नगरपालिकाका योजनामै यस्ता कार्यक्रम राखेर सञ्चालन गर्ने समेत उनले बताए ।
कार्यक्रममा बोल्ने क्रममा ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टले शिक्षण संस्थाभित्र यस्ता कार्यक्रम नियमित सञ्चालन गर्न पहल गर्ने बताए ।
कार्यक्रमको समापनमा बोल्दै नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज खगराज भट्टले राजनीतिक रुपमा र नीति निर्माण प्रक्रियामा यस्ता अभियानको निरन्तरता तथ भ्रष्टाचार उन्मुलनका योजननहरु तर्जुमाको लागि आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा मन्तव्य राख्ने राजनीतिक दल तथा संघसंस्था सम्बद्ध विभिन्न व्यक्तिहरुले आफू कहिले भ्रष्टाचार नगर्ने प्रतिबद्धता पनि व्यक्त गरे । धनगढीमा कार्यक्रम संयोजन गरेको सृजनशील मञ्चका अध्यक्ष तथा लेखक जनक रसिकले सुदूरपश्चिममा यस्तो प्रदर्शनी पहिलोपटक भएको तथा स्थानीय सर्जकहरुका लाग नितान्त नयाँ अनुभव भएकोले यसबाट सिक्दै आगामी दिनमा स्थानीय स्तरमै यस्ता प्रदर्शन आयोजना गर्ने बताए ।
देशका सातै प्रदेशमा सञ्चालन भएको अभियान शनिबार धनगढीमा समापन भएको छ ।