धनगढी। बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण गर्न मन्त्रीसहितको टोली दार्चुला गएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडू, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल, सुदूरपश्चिमका वनमन्त्री मानबहादुर धामीसहितको टोली नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यसतर्फ गएका हुन् ।
दार्चुला जान मन्त्री बडू धनगढी आइपुगेका थिए । बाढीपहिरो पीडितका लागि तत्काल आवश्यक पर्ने त्रिपाल, खाद्यान्न र कम्बलहरु लगायतका राहत सामग्रीसहित मन्त्रीत्रयको टोली त्यसतर्फ गएका हुन्। शुक्रबार रातिदेखिको अविरल वर्षासँगै दार्चुलाको नौगाड गाउँपालिका–२, सल्ला गाउँमा आएको बाढी र पहिरोमा परी पाँचजनाको मृत्यु भएको छ । चारजना अझै बेपत्ता छन् । पहिरोले बस्तीमा ठूलो क्षति पुगेको हो ।
यस्तै, महाकाली नदी र लस्कु खोलामा आएको बाढीले महाकाली नगरपालिका–२, ३ र ४ का ११ घर बगाएको छ । महाकालीमा आएको बाढीले लस्कु खोलाको बहाव छेक्दा वरपरका घर जोखिममा परेका छन् । प्रहरीका अनुसार लस्कुको बाढीले डुंग्री गाउँ जोड्ने झोलुंगे पुल बगाउनुका साथै बनाउँदै गरेको पक्की पुलमा समेत क्षति पुगेको छ ।अहिलेसम्म लस्कुले गाउँको एउटा विद्यालय भवन, ११ घर, दुई पुल र केही सवारीसाधन समेत बगाएको प्रहरीले जनाएको छ ।
यस्तै गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढीपहिरोमा परी घाइते भएका र प्रभावितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिएका छन्। उनले आवश्यकतानुसार हेलिकोप्टरको प्रयोग गर्नसमेत निर्देशन दिएका छन् । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्री खाणको निर्देशनपछि बाढी र पहिरोमा परी गम्भीर घाइतेको उद्धार गर्न कर्णाली प्रदेशको सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पुगेको र घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरिएको जानकारी दिए ।
नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डिआइजी मोहन आचार्यका अनुसार महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिराले ठूलो क्षति पुर्याएको छ । अहिलेसम्म पाँच जनाको शव भेटिएको छ भने सात जना बेपत्ता तथा आठ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको उनले बताए । गृहमन्त्री खाणले बाढी पहिराबाट विस्थापितलाई तत्कालीन राहत, उद्धार र स्थानान्तरणमा कुनै कमी हुन नदिन यथाशीघ्र उद्धार गर्न निर्देशन दिएका छन् । उनले सरकार नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यसका लागि कुनै कसर बाँकी नराख्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिए । बाढीबाट लास्कु क्षेत्रका चार, बाङाबगड क्षेत्रका ११ घर तथा दशरथनगर आधारभूत विद्यालयमा पूर्ण क्षति पुगेको छ । दुहुँ र महाकाली जोड्ने लास्कुखोलाको झोलुङ्गे पुल र मोटरेबल पुल बगाएको छ । बाढीले पार्किङमा राखेका पाँच जीप, एउटा ट्रयाक्टर र एउटा समेत बगाएको प्रहरी जनाएको छ । अहिले बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी खोज तथा उद्धारमा खटिएका छन् ।