दार्चुला। दार्चुलामा आएको बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । गएराति परेको वर्षाका कारण बाढी र पहिरोमा परेर दार्चुलाका फरक फरक स्थानमा ज्यान गुमाउनेको संख्या पाँच पुगेको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक जगत गाहामगरका अनुसार मृत्यु हुनेमा नौगाड २ सल्लामा ३० वर्षीया जानकी ठगुना, १२ वर्षीया धनौली ठगुन्ना खोला किनारमा मृत भेटिएका छन्।
यसैगरी नौगाड गाउँपालिका २ कै दल्लेखमा ६८ वर्षीय मोहनराज पार्की आफ्नै घरले थिचेर मृत्यु भएको अवस्थामा फेला छन् । यसैगरी महाकाली नगरपालिका २ मैखोलीमा ७७ वर्षीय नन्दराम बोहरा मृत भेटिएका छन्। वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको मृत्यु भएको छ। अन्य चारजना अझै बेपत्ता छन् । अहिले घटना स्थालमा प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् ।
महाकाली नदी र लस्कु नदीमा आएको बाढीले महाकाली नगरपालिका वडा नम्बर २, ३ र ४ का ११ घर बगाएका छन् । महाकालीका आएको बाढीले लस्कु नदीको बहाव छेक्दा वरपरका घर जोखिममा परेका छन् । प्रहरीका अनुसार लस्कु खोलाको बाढीले डुङ्ग्री गाउँ जोड्ने झोलुङ्गे पुल बगाउनुका साथै बनाउँदै गरेको पक्की पुलमासमेत क्षति पुगेको छ । अहिलेसम्म लस्कु नदीले गाउँको एक विद्यालय, ११ वटा घर, दुई पुलका साथै केही सवारी साधनसमेत बगाएको प्रहरीले बताएको छ । रातिको अविरल वर्षाकै कारण जिल्लाको नौगाड गाउँपालिका–२, सल्ला गाउँमा आएको पहिरोले बस्तीमा ठूलो क्षति पुगेको छ । घटना बारे थप बिवरण आउन बाँकी छ ।