बाजुरा। बाजुरा बडिमालिका पाटनमा बिरोधका बिच डोजर चलाईएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पाटनमा बिरोधका बिच डोजर लगाएर सडक खन्ने काम भइरहेको हो। डोजरले यस क्षेत्रका पाटनहरुलाई छियाँ छिया पारिरहेको स्थानियले बताएका छन् । मार्तडी बडिमालिका पर्यटकीय सडक नाम दिइएको सो सडक निमार्णमा स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकार बीच समन्वय छ।
‘फूलचढाउने भन्दा अगाडि सडक नलैजान भनेर स्थानीयले बिरोध गरे पनि नगरपालिकाले त्यहाँ भन्दा ४ किलोमिटर अगाडीसम्म डोजर लगाएको स्थानीय नरबहादुर रावलले बताए । बडिमालिका नगरपालिका वडा नम्बर ८ का निर्वतमान वडा अध्यक्ष प्रकाश रावलले सोता पाटन सम्म डोजर लगाइएको बताए। उनले भने, डोजर लगाउँदा पाटनको शौन्र्दयतामा नै असर गरेको भनेर स्थानीयले विरोध गरे तर नगरपालिकाले सुन्दै सुनेन।’ स्थानीय वासिन्दाले अहिले विरोध गरेपनि नगरपालिकाले आफनो काम नरोक्ने बताएको छ।
नगरपालिकाले टेन्डर निकालेर यो काम गरेको भएर अहिले विरोध भयो भन्दैमा काम नरोकिने बडिमालिका नगरपालिका ईन्जिनियर हिक्मत रावल बताउँछन् । बाटो खन्ने काम सोता पाटन सम्म पुर्याइएकोले अब त्यो भन्दा अगाडि नबढाईने इन्जिनियर रावल बताउँछन् । नगरपालिकाले वाताबरणीय प्रभाब मुल्याकंन गरेर सडक निर्माण गरेको दाबी गरेपनि अहिलेसम्म अध्ययनको काम नभएको पाईएको छ । पुर्वाधार कार्यलय साँफे बगरका प्रमुख रुद्ध बोगटी भन्छन, ‘वाताबरणीय प्रभाब मुल्याकंन गर्ने काम प्रक्रियामा रहेको छ ।’ उक्त सडकको नयाँ ६.६ किलोमीटर ट्रयाक खोलिएको हो, जसमा ४ किलोमिटर बढी पाटन क्षेत्र रहेको छ ।