कैलाली। मंसिर ४ गते हुने प्रतितिनिधिसभाको चुनावका लागि एमालेका सल्लाहाकार डा. भीम रावल अछाम–१ बाट सिफारिस भएका छन्। अछाम इन्चार्ज झपट बोहराका अनुसार आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभा तर्फ रावलको एकल नाम सिफारिस भएका हुन्। रावल २०७४ को चुनावमा त्यहीँ क्षेत्रबाट निर्वाचित भएका हुन्।
नेपाली कांग्रेसका भरतकुमार स्वारलाई हराउँदै रावल अघिल्लोपटक निर्वाचित भएका थिए । रावलले २४ हजार ८ सय ८३ मत प्राप्त गर्दा स्वारले १७ हजार ७ सय १९ मत ल्याएका थिए । प्रदेश सभाका लागि भने ४/४ जनाको नाम संकलन गरीएको छ । निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ बाट प्रकाश शाह, देवबहादुर कुँवर, देवबहादुर साउँद र सीता कुँवर साथै ‘ख’ बाट कृष्णप्रसाद जैशी, केशरबहादुर साउँद,डीबी साउँद र पद्मा तिमिल्सिना न्यौपाने सिफारिसमा परेका छन् ।
यसैगरी अछाम २ बाट पनि अघिल्लो पटक निर्वाचित भएका यज्ञबहादुर बोगटीको नाम एकलरूपमा सिफारिस गरिएको छ । प्रदेशसभातर्फ ‘क’ बाट ७ जना र ‘ख’ बाट ८ जना गरी १५ जनाको नाम सिफारिस गरीएको छ । ‘क’ बाट प्रत्यक्षतर्फ बम बहादुर बिसी, भीमबहादुर विष्ट, कमल रावल, बलबहादुर कुँवर, नन्द चलाउने, प्रेम खत्री र शिद्धादेवी शाहीको नाम सिफारिस गरीएको छ । यस्तै २ को ‘ख’ बाट शिवप्रसाद उपाध्याय, चन्द्र बोहरा, भीम रावल कालोटोपी, दीपक अधिकारी, भीम जनला, कृष्ण साउँद, लीलाराज केसी र टोपबहादुर शाहीको नाम सिफारिस गरिएको एमालेले जनाएको छ ।