कैलाली। कैलालीको धनगढीमा ‘मेमोरी एण्ड लाइफ म्यानेजमेन्ट वर्कसप’ कार्यक्रम हुने भएको छ । जय आर्यमा एजुकेशनको आयोजनामा यही भाद्र २५ गते पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको वर्कसप हुन लागेको हो । उक्त वर्कसप कार्यक्रमका संयोजक रोहित चन्दका अनुसार कार्यक्रममा मुख्य प्रशिक्षकका रुपमा विश्व कीर्तिमानी सुपर मेमोरी किङ नेपाली प्रशिक्षक डा। नवल पजियार रहने छन् ।
धनगढीको रीद्धि सिद्धी पार्टी प्यालेसमा बिहान साढे ७ बजेदेखि मध्यान्न साढे १२ बजेसम्म वर्कसप कार्यक्रम चल्ने छ । सो कार्यक्रमले स्मरण शक्ति मजबुत बनाउन, शारीरिक तथा मानसिक स्फूर्तिले आर्थिक अवस्थामा पुर्याउने असर, तनाव व्यवस्थापन, आफ्नो व्यावसायिक, सामाजिक र निजी जीवनमा सन्तुलन मिलाएर खुसी जीवन बिताउने टेक्निक, परिवारमा बच्चासँग भावनात्मक सम्बन्ध सुमधुर बनाउने कला लगायत फाइदा लिन सकिने संयोजक चन्दले बताए।
उनले कार्यक्रममा प्रवेशका लागि शुल्क तोकिएको बताए । जस अनुसार, एक जनाको प्रवेश शुल्क एक हजार तोकिएको छ भने एक जोडीको एक हजार पाँच सय तोकिएको छ । यस्तै विद्यार्थीलाई सात सय तोकिएको कार्यक्रम संयोजक चन्दले बताए ।कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू लगायत ६ सय जनाको उपस्थिति रहने बताइएको छ ।