काँग्रेस नेता नैनसिंह महर आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली–४ बाट उम्मेदवारका लागि सिफारिस भएका छन्। क्षेत्रीय कार्यसमितिले उम्मेदवारका लागि नेता महरसहित पाँच जनाको नाम सिफारिस गरेको हो।
यस्तै नेताहरु सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी र लक्ष्मीराज पाठकको नाम पनि सिफारिस भएको छ। नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्षसमेत भइसकेका केन्द्रीय सदस्य महर डडेल्धुराका हुन्।
तर प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा नै डडेल्धुराबाट चुनाव लड्दै आएकाले महरले कैलाली–४ रोजेका हुन्। कैलाली–४ मा सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी नगरपालिका क्षेत्र पर्दछ।
०७४ को निर्वाचनमा यो क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार लेखराज भट्ट निर्वाचित भएका थिए भने काँग्रेस नेता भण्डारी पराजित भएका थिए। ०६४ मा भट्टले नै जितेका थिए भने ०७० मा भने काँग्रेसका दीर्घराज भाट विजय भएका थिए। नेता महरले शीर्ष नेताहरुसँगको परामर्शमै कैलाली–४ बाट आफूले उम्मेदवारका लागि सिफारिस गराएको बताएका छन्।