अछाम। अछामको तुर्माखाँद गाउँपालिकाको एउटा वडाले अवैध मदिरा बेचबिचखन तथा सेवनमा कडाइ गरेको छ । वडा नम्बर ३ भैरवस्थानले सार्वजनिक स्थानमा अवैध मदिरा बेच्ने, सेवन गर्ने र जुवातास खेल्ने क्रियाकलापमा कडाइ गरेको हो । वडाले जुवातास खेलेको हेर्नेलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ।
वडाले एक सूचना निकालेर अवैध मदिरा बिक्री गरेको पाइए आठ हजारसम्म जरिबाना गरिने जनाएको छ। मदिरा सेवन गर्नेलाई साढे दुईहजारसम्म जरिबाना गरिने सूचनामा उल्लेख छ । यसैगरी जुवातास खेलाउनेलाई सात हजारसम्म र खेल्नेलाई तीन हजारसम्म जरिबाना गरिने सूचनामा उल्लेख छ । साथै जुवातास खेल्ने ठाउँमा बस्ने वा हेर्नेलाई एक हजारसम्म जरिबाना गरिने सूचनामा उल्लेख छ । वडाध्यक्ष काशिराम बुढाले आफूले आफ्नो कार्यकालमा मदिरा र जुवातास नियन्त्रणमा लिने योजना बनाएको बताए। साथै वन अतिक्रमणलाई रोक्ने पनि आफ्नो योजना रहेको उनको भनाइ छ ।