धनगढी : पश्चिम तराइमा बस्ने थारु समुदायले आइतबार ‘अटवारी’ पर्व मनाएका छन् । कैलाली–कञ्चनपुरसहित पश्चिम तराईका बाँके, बर्दिया र दाङमा बसोबास गर्ने थारु समुदायले आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वको रूपमा ‘अटवारी’ मनाएका हुन् ।
यो समुदायले आइतबारको दिनलाई ‘अटवार’ नामले चिन्ने हुँदा आज आइतबार यो पर्व प्रारम्भ हुन्छ । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिनबाट प्रारम्भ हुने यो पर्वपछि उक्त समुदायले आफ्नो लोक संस्कृतिसँग सम्बन्धित नाचगान एवं सांस्कृतिक कार्यक्रम आरम्भ भएको मान्दछन् ।
वर्षा ऋतुमा खेतीको काममा निकै व्यस्त रहने यो समुदायका व्यक्ति अटवारी पर्वपछि भने कामको बोझ हटेर पाइने फुर्सदको समयको उपयोग गर्दै टोलटोलमा संस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्दछन् ।
यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाइ दिनभर व्रत बस्ने प्रचलन छ । व्रत बसेकाले साँझपख आ–आफ्नो घरमा मीठो परिकार पकाइसकेपछि पूजामा बस्ने गर्दछन् । पूजाको कामपछि पकाइएका खानाका परिकार व्रतालुले प्रसादको रूपमा ग्रहण गर्ने र भोलिपल्ट बिहान पकाइएको परिकार विवाहिता आफ्नी छोरी, दिदीबहिनीको घरसम्म पु¥याउने प्रचालन रहेको छ । पूजाको काम सकिएपछि छोरी बहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ । अग्रासन दिने काम सकिएपछि यो पर्वको समापन भएको मानिन्छ ।
महाभारतको युद्धमा पराजित भइ बनवास जान बाध्य भएका पाण्डवमध्येका भीमले वनवासमा रहेको समयमा देखाएको बहादुरीको खुशीयाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन शुरु भएको चौधरी समुदायका अगुवा बताउँछन् । यो पर्वको दिनदेखि ‘बड्कीमार’ अर्थात् महाभारतको कथावाचन गर्ने समय पनि आरम्भ भएको विश्वास यो समुदायमा गरिन्छ ।