कञ्चनपुर। कञ्चनपुरमा पनि डेंगु र मलेरियाका बिरामी देखिन थालेका छन् । केही दिनयता स्वास्थ्य संस्थाहरूमा भाइरल ज्वरोको प्रकोपसंँगै डेंगु र मलेरियाका बिरामी देखिन थालेका हुन् ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गतसाता गरिएको परीक्षणमा ४ जनामा डेंगु देखिएको छ । दोधारा चाँदनी नगरपालिकामा २० जनाको परीक्षण गर्दा डेंगु देखिएको हो ।
साउनयता ६ जनामा मलेरिया देखिएको छ । यतिबेला महाकाली प्रादेशिक अस्पतालसंँगै विभिन्न स्वास्थ्य चौकीमा भाइरल र रुघा खोकीका बिरामी बढेका छन् ।उनीहरूमध्ये नै डेंगु र मलेरिया देखिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले बताए । महाकाली प्रादेशिक अस्पतालमा पनि मलेरिया र डेंगुका बिरामी देखिन थालेको अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डा। अर्जुन भट्टले बताए ।
उनकाअनुसार फाटफुट मात्रामा डेंगु र मलेरिया देखिन थालेका हो । गत सातासम्म ९ जनामा डंगु देखिएको अस्पतालले जनाएको छ । अहिले अस्पतालमा पनि भाइरल ज्परोका बिरामीको चाप बढेको छ ।एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गर्दछ । वर्षातको सिजनमा फुलदानी, पानीको ट्यांकी र पुराना टायर आदिमा जमेको पानीमा यो जातको लामखुट्टेले फुल पार्दछ । त्यसैबाट यसको वृद्धि भएर डेंगुको प्रकोप बढ्छ ।
यो लामखुट्टेले दिनमा टोक्ने भएकाले त्यसबाट जोगिनुपर्छ । घरवरपर पानी जम्न दिनु हुँदैन । धेरै मात्रामा लामखुट्टे देखिएमा कुहिरोजस्तो धूवाँयुक्त विषादी छर्किनुपर्ने उनले बताए ।उनका अनुसार धेरैमा डेंगु देखिए केहीमा श्वासप्रश्वासको समस्या देखिन सक्ने उनले बताए । कञ्चनपुरमा गतवर्ष १५ जनामा डेंगु देखिएको थियो । डेंगु र मलेरियाका बिरामी देखिन थाले पनि जिल्लामा परीक्षणका लागि कीटको अभाव रहेको औलो निरिक्षक भट्टले बताए । उनकाअनुसार प्रदेश आपूर्ति केन्द्रले सय कीट पठाएको थियो । उक्त कीटहरू जिल्लाका सबै पालिकामा वितरण गरिएको उनले बताए ।