धनगढी । आधिकारिक रुपमा नआएपनि धनगढी उपमहानगरपालिका रहेको कैलाली क्षेत्रनम्बर ५ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसकी नेतृ आर्जु राणा देउवा उठ्ने पक्कापक्की जस्तै छ ।
आर्जु स्वयमले पनि यसअघि सार्वजनिक कार्यक्रममा ‘पार्टीले पत्याएमा आफू यसै क्षेत्रबाट उठ्ने’ उद्घोष गरिसकेकी छिन् । पार्टीका जिल्ला नेतृत्वलाई पनि आर्जुको पक्षमा माहौल बनाउँन प्रत्यक्ष अप्रत्यक्ष लबिङ हुन थालिसकेका छन् ।
कांग्रेस जिल्ला सचिव नृप सुनारका अनुसार आर्जुले यसै क्षेत्रबाट लड्ने तयारी गरिरहेकै कारण नेता, कार्यकर्तासँग भेटभाट तथा आन्तरिक तयारी थालिसकेकी छिन् ।
अघिल्लो निर्वाचनमा आर्जु धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिका समेटिएको कैलाली क्षेत्र नम्बर ५ मा तत्कालिन गठबन्धनका उम्मेदवार नारदमुनी रानासँग पराजित भएकी थिइन् ।
त्यसबेला एमाले र माओवादी मिलेर बनेको वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानासँग राणा चार हजार आठ सय ८० मत अन्तरले पराजित भएकी थिइन्। एमालेका रानाले २७ हजार २०२ मत प्राप्त गर्दा राणाले २२ हजार तीन सय २२ मत मात्र प्राप्त गरेकी थिइन्।
तर गत बैशाख अन्तिममा भएको स्थानीय निकायको निर्वाचनको परिणाम भने पुनः यस क्षेत्रबाट उठ्ने तयारी गरेकी आर्जुलाई हौस्याउँने खालको छ ।
यस निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धनका रुपमा चुनाव लड्दैछन् । धनगढीका १९ र कैलारी गाउँपालिका २ गरी यस क्षेत्रमा जम्मा २१ वडा छन् । यी वडाबाट जितेका वडाअध्यक्षको मात्रै मतमात्रै गन्ने हो भने गठबन्धन एमालेभन्दा २८ हजार ८७२ मतले अगाडि देखिन्छ ।
स्थानीय निर्वाचनमा गठबन्धनबाट उठेका वडा अध्यक्षहरुलेमात्रै ४७ हजार ४० मत पाएका छन् । जबकी प्रमुख प्रतिपक्षका रुपमा रहेको एमालेका वडाअध्यक्षहरुले यी दुबै पालिकामा १८ हजार १६८ मत पाएका छन् ।
धनगढीमा मात्रै गठबन्धनका वडाअध्यक्षका उम्मेदवारहरुले ३० हजार ९०८ ल्याएको छ । एमालेको ठिक आधा १५ हजार ४ सय १० मत छ । धनगढीमामात्रै कांग्रेसका वडाअध्यक्षहरुले २० हजार ७ सय २५, माओवादीका वडाअध्यक्षहरुले ८ हजार १ सय ७४ र एकिकृत समाजवादीका वडाअध्यक्षहरुले २ हजार ९ मत पाएका छन् ।
उता कैलारीमा गठबन्धनका वडाअध्यक्षहरुले १६ हजार १३२ पाउँदा एमालेका वडाअध्यक्षहरुले २ हजार ७५८ मतमात्रै पाएका छन् । कैलालीमा कांग्रेसका वडाअध्यक्षहरुलेमात्रै १० हजार ८८७ तथा माओवादीका वडाध्यक्षहरुले ५ हजार २४५ पाप्त गरेका छन् ।
यी तथ्यांकहरुका आधारमा दुबै पालिकामा यसपल्ट कांग्रेस नेतृ राणालाई धेरै राहात हुने देखिन्छ । तर आन्तरिक कलह व्यवस्थापन तथा गठबन्धनको साथमा आर्जुको भविष्य निर्धारण हुनेदेखिन्छ ।