धनगढी। धनगढी उपमहानगरपालीका र वनस्पति अनुसन्धान केन्द्रबीच जग्गाको स्वामित्व र भोगाधिकारको विषयलाई लिएर विवाद बढेको छ। धनगढी ७ मा रहेको देवहरिया वनस्पति उद्यानमा उपमहानगरले आफूखुसी संरचना बनाउन थालेको आरोप वनस्पति अनुसन्धान केन्द्रले लगाएको छ। देवहरिया वनस्पति उद्यानभित्र पर्ने जाखौर ताल क्षेत्रमा उपमहानगरपालिकाले डोजर नै चलाएर जबरजस्ती भौतिक संरचना बनाएको भन्दै दुवै कार्यालयबीचको विवाद सार्वजनिक भएको हो।
विवादपछि वनस्पति अनुसन्धान केन्द्रले जिल्ला प्रशासन कार्यालयलाई गुहारेको छ । देवहरिया वनस्पति उद्यानभित्र पर्ने जाखौर ताल क्षेत्रमा उपमहानगरपालिकाले डोजर नै चलाएर जबरजस्ती भौतिक संरचना बनाएको भनेको छ। उपमहानगरपालिकाले भने केन्द्रसँगको समन्वयमै संरचना बनाएको दाबी गरेको छ। वनस्पति अनुसन्धान केन्द्रका प्रमुख गंगादत्त भट्टले जाखौर ताल क्षेत्र अतिक्रमण गरी बनाइरहेका संरचना रोक्न पटक–पटक लिखित र मौखिक रुपमा आग्रह गर्दा समेत उपमहानगरपालिकाले अटेरी गरेको आरोप लगाए ।
उनले भने, २९ साउनमा प्रशासनलाई लेखेको पत्रमा जाखौर तालमा वनस्पति अनुसन्धान केन्द्रसँग कुनै जानकारी, सम्झौता र समझदारी बेगर धनगढी उपमहानगरपालिकाद्वारा अनाधिकृत र श्रृङ्खलावद्ध रुपमा विभिन्न निर्माण कार्यहरु गरिरहेकाले उपमहानगरले गरेको अतिक्रमण हटाउन जिल्ला प्रशासन कार्यालय सहयोग गरिदिन भनिएको बताए । पत्रमा तालमा कुनै किसिमका निर्माण कार्य नगर्न पटक पटक मौखिक र लिखित रुपमा गरिएका पत्राचारको वेवास्ता गर्दै एकतर्फी रुपमा निर्माण जारी राख्दा कठिनाइ भइरहेको उल्लेख छ। केन्द्रले सहयोग मागेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिकालाई पत्र लेख्दै विवादबारे जवाफ मागेको छ ।जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले वनस्पति अनुसन्धान केन्द्रको पत्रका आधारमा जाखौर ताल क्षेत्रमा निर्माण गरिएका संरचना सम्बन्धी विवाद के हो ? भनेर उपमहानगरपालिकासँग जवाफ माग गरिएको जानकारी दिए ।
अहिलेसम्म जवाफ प्राप्त नभएको उनले भने । वनस्पति अनुसन्धान केन्द्रको स्वामित्वमा रहेको देवहरिया वनस्पति उद्यानभित्र पर्ने जाखौर ताल क्षेत्रमा धनगढी उपमहानगरपालिकाले फुटपाथसहित सौर्य बत्ती जडान गरेको छ । उपमहानगरपालिकाले १२ असार २०७६ मा रोयल प्रशंसा जेभीसँग ४ करोड ४९ लाख ५५१६ रुपैयाँमा ठेक्का सम्झौता गर्दै ती संरचना बनाएपछि नै दुवै निकायबीच विवाद सुरु भएको हो । उपमहानगरपालिकाले डोजरको प्रयोग गरी ताल क्षेत्र वरपरको माटो निकाल्दै डिल बनाएर फुटपाथ निर्माण गरेको छ भने रेलिङ बनाउदै सौर्य बत्ती जडान गरेको छ । उपमहानगरले फुटपाथमै दुई सय ५४ वटा फलामे पोल गाडेर ७६२ वटा सौर्य बत्ती जडान गरेको छ ।
उपमहानगरपालिकाले वन ऐनको समेत प्रतिकुल हुनेगरी मौखिक र लिखित रुपमा बारम्बार उद्यान क्षेत्रभित्र संरचना बनाउने गतिविधि रोक्न भन्दै वनस्पति उद्यान केन्द्रले पत्राचार गर्दा समेत वेवास्ता गरेको देखिएको छ । पहिलो पटक २८ फागुन २०७७ मा वनस्पति उद्यान केन्द्रका तत्कालीन कार्यालय प्रमुख डम्बरबहादुर कार्कीले जाखौर ताल र वरपरको क्षेत्रमा सञ्चालन गरिएका सबै क्रियाकलाप रोक्न उपमहानगरपालिकालाई पत्राचार गरेका छन् । कार्कीले पठाएको पत्रमा सो क्षेत्र वनस्पति कार्यालयको क्षेत्राधिकार भित्र पर्ने भएकाले अबिलम्ब सबै काम रोक्न अनुरोध गरिएको छ । तर धनगढी उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टले वनस्पति कार्यालयसँगको समझदारीमै जाखौर ताल क्षेत्रमा भौतिक संरचना निर्माण ठेक्का लगाएर काम गरिएको दाबी गरेका छन् । ‘तत्कालीन कार्यालय प्रमुखसँगको समझदारीमै काम गरिएको हो । अहिले आएर वनस्पति कार्यालयले विवाद गरिरहेको इन्जिनियर भट्टले बताए ।अनलाईनखवरबाट