धनगढी : सरकारले प्रदेश र प्रतिनिधीसभा निर्वाचन घोषणा गरेसंगै उमेदवारहरु कहाँबाट को लड्ने भनेर चर्चा हुन थालेको छ । कुन नेता कहाँबाट निर्वाचन लड्ने भनेर आम जनमानसमापनि चासोको बिषय बनेको छ । यसैबिच कैलाली क्षेत्र नम्बर ४ मा कुन नेता भिड्ने भनेर चर्चा शुरु भएको छ ।
एमाले सचिव तथा पुर्व मन्त्री लेखराज भट्टको क्षेत्र ४ नम्बर भएका कारणपनि यस क्षेत्रमा चासोका साथ हेरिएको छ । यहाँ गठबन्धनबाट कुन नेता भट्टसंग भिड्ने भनेर आँकलन गरिन थालेको छ । गठबन्धनबाट काग्रेंस र एकिकृत समाजवादीले दावी गरेको छ । काग्रेंसबाट सुनिल कुमार भण्डारी र एकिकृत समाजवादी पार्टीबाट दीर्घ सोडारीको नाम चर्चामा छ ।
भण्डारी राष्ट्रियसभाका पूर्व सदस्य हुन् । उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादीसहितको वाम गठबन्धनबाट उम्मेदवार बनेका लेखराज भट्टसँग १० हजार ३९९ मतले पराजित भएका थिए । भट्टले ३१ हजार ३५९ मत ल्याएर जित हासिल गर्दा भण्डारीले २० हजार ९६० मत ल्याएका थिए ।
यहाँ गठबन्धनबाट नेकपा एकिकृत समाजवादीबाट बलियो दावी रहेको छ । नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य, कैलाली ईन्चार्ज तथा सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री दीर्घ सोडारी बलियो उमेदवारका रुपमा प्रस्तुत भएका छन् । नेकपा एकिकृत समाजवादी पार्टीले सुदूरपश्चिममा गठबन्धनबाट ३ सिट पाउने जनाएको छ । ३ सिट मध्ये कैलाली क्षेत्र नम्बर ४, डोटी र अछाम पाउने सम्भावना बढेकोले सोडारी लेखराजज भट्ट संग भिड्ने सम्भावना बढी छ ।
२०७४ को प्रदेशसभा निर्वाचनमा क्षेत्र नं ४ को (क) बाट उनले १६ हजार ११५ मत पाएर जित हासिल गरेका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका यज्ञराज चौधरीले ११ हजार ४२५ मत ल्याएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा सो क्षेत्र कैलाली क्षेत्र नं ५ अन्तर्गत थियो । उक्त निर्वाचनमा नेकपा माओवादीबाट उम्मेदवार बनेका भट्टले १७ हजार ९७९ मत प्राप्त गरी जित हासिल गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीर्घराज भाटले १३ हजार ६३८ मत ल्याएका थिए भने नेकपा एमालेका हरिशंकर योगीले ७ हजार ५९७ मत प्राप्त गरी तेस्रो भएका थिए ।
२०७० को निर्वाचनमा भने लेखराज भट्ट कांग्रेसका दीर्घराज भाटसँग पराजित भएका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी र एमाले गठबन्धनबाट उम्मेदवार बनेका भट्ट ३१ हजार ३५९ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिलकुमार भण्डारीले २० हजार ९६० मत ल्याएका थिए ।