कैलाली। कैलालीमा नागरिक उन्मुक्ति पार्टी संघिय र प्रदेश सभा निर्वाचनको निर्वाचन लड्ने तयारी गरेको छ । कैलालीका स्थानिय तह निर्वाचनमा जितेर पहिलो दल बनेको पार्टी ४ मंसिरमा हुने संघिय र प्रदेश सभाका लागि पनि उम्मेदवारी दिने तयारी गरेको हो । नागरिक उमुक्ति पार्टी संघ र प्रदेशको चुनावमा पनि एक्लै चुनाव लडेर जित्ने दाउमा छ ।
गत ३० वैशाखको स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले चार पालिका जितेर पहिलो दल बनेको थियो। जिल्ला समन्वय समितिको निर्वाचनमा एमालेसँग सहकार्य गरेको उन्मुक्ति पार्टीले आम निर्वाचनमा भने एक्लै निर्वाचन लड्ने तयारी गरेको छ। नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले कुनै पनि दलसँग गठबन्धन वा चुनावी तालमेल नगरी निर्वाचनमा भाग लिने बताए । ‘कैलालीको हकमा ठोस रुपमा हामी अगामी चुनावमा एक्लै जाने भन्नेमा छौं।
बाहिर-बाहिर कसले के भन्छ त्यसको कुनै अर्थ हुँदैन’ पण्डितले भने, ‘कसैसँग सहकार्य नगर्ने भन्ने नै छ। अरु जिल्लामा भने दुवै पक्षलाई लाभ पुग्ने अवस्था भए गठबन्धन वा तालमेल नकार्न सकिंदैन।’ उनका अनुसार कैलालीमा अहिलेसम्म कुनै पनि दलबाट आधिकारीक रुपमा सहकार्यको प्रस्ताव पनि आएको छैन। प्रतिनिधि सभाका पाँच र प्रदेश सभाका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी भइरहेको प्रवक्ता पण्डितको भनाइ छ। कैलालीमा स्थानीय तहको निर्वाचन जस्तै प्रदेश र प्रतिनिधि सभामासमेत नागरिक उन्मुक्ति पार्टी पहिलो दल बन्ने दाबी उनको छ। प्रतिनिधिसभामा चार सिट ल्याउने उनले बताएका छन् ।