कैलाली। मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कैलालीमा पनी चुनावी चर्चा चुलिएको छ। कैलालीमा पनी बिभिन्न राजनितीक पार्टीभित्र उम्मेदवारका आकांक्षीहरु भने आ–आफ्नो निर्वाचन क्षेत्रमा चुनावको माहोल बनाउन सक्रिय हुन थालेका छन्।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनसँग प्रतिस्पर्धामा उत्रिने तयारी गरिरहेको नेकपा एमालेले कुन दलसँग कहाँ कसरी तालमेल गर्ने भन्ने छिनोफानो गर्न बाँकी नै छ । तरपनी पार्टीभित्र उम्मेदवारका आकांक्षीहरु चुनावको माहोल बनाउन थालेका छन् । कैलाली निर्वाचन क्षेत्रमा एमालेबाट उम्मेदवारका आकांक्षी सक्रिय हुन थालेका छन् । नेकपा एमाले कैलालीले कैलालीका ५ वटै संघीय निर्वाचन क्षेत्र र १० वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा करिब–करिब उम्मेदवारको टुङ्गो लागेको जनाएको हो।
नेकपा एमाले कैलालीका सचिव डेजी पाण्डेका अनुसार क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यतर्फ तपेन्द्र रावलको नाम चर्चामा छ। उनी टीकापुर नगरपालिकाका पूर्व मेयर हुन् । त्यस्तै, सो क्षेत्रको प्रदेशसभाका लागि (क) तर्फ द्वारिका न्यौपाने र (ख) तर्फ गोमा आचार्यको नाम चर्चामा छ ।क्षेत्र नं. २ तर्फ प्रतिनिधिसभा सदस्यमा झपट रावल र राष्ट्रियसभा सदस्य कमला ओलीको नाम चर्चामा छ । क्षेत्र नं.२ को प्रदेशसभा (क) तर्फ खरप्रसाद अधिकारी र दलबहादुर बिष्ट, (ख) तर्फ डेजी पाण्डेको नाम चर्चामा छ ।
क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्यतर्फ गौरीशंकर चौधरी, सोही क्षेत्रको प्रदेशसभा (क) तर्फ जयनारायण जोशी, (ख) तर्फ रतन रेग्मीको नाम चर्चामा छ । त्यस्तै, क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्यतर्फ पूर्वमन्त्री लेखराज भटट्, सोही क्षेत्रको प्रदेशसभा (क) तर्फ लोकन्द्र शाही, (ख) तर्फ कृष्णराज सुवेदीको नाममा लगभग सहमति बनिसकेको बताइएको छ । सुवेदी सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री हुन् । क्षेत्र नं. ५ मा प्रतिनिधिसभा सदस्यतर्फ नारदमुनी राना दोहोरिने निश्चित रहेको बताइएको छ । सोही क्षेत्रको प्रदेशसभा (क) तर्फ पुनः नेपालु चौधरी र (ख) तर्फ दुर्गा प्रसाद जोशीको नाम चर्चामा छ । नेकपा एमाले कैलाली सत्तारुढ गठबन्धनभित्र हुने अन्तरघात तथा रस्साकस्सीको मौका उठाउँदै चुनाव जित्ने रणनीतिमा देखिन्छ ।