नेकपा (एकिकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) लगायतका दलसँग पार्टी एकता गर्नका लागि पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालयमा बुधबार बसेको बैठकले एकता संयोजन समिति गठन गर्नका लागि स्विकृत दिने निर्णय गरेको पार्टीका उपमहासचिव डा।गंगालाल तुलाधरले जानकारी दिए ।
दुई दिनअघि माओवादी केन्द्रको सचिवालय बैठकले डा।बाबुराम भट्टराई र बामदेव गौतमलाई आफ्नै पार्टीको निर्वाचन चिन्हबाट निर्वाचनमा सहभागी गराउने निर्णय गरेको दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिष्टलाई जोडेर नेकपा समाजवादी केन्द्र निर्माण गर्ने बताएका थिए ।
बाबुराम भट्टराई र बामदेव गौतम पनि पार्टी एकता गर्ने आन्तरिक तयारीका साथमा एउटै निर्वाचन चिन्हमा निर्वाचन लड्न तयार भएका हुन् । उनीहरुले निर्वाचन आयोगमा समेत निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने क्रममा एउटै निर्वाचन चिन्हमा निर्वाचन लड्ने गरी दल दर्ता गराइसकेका छन् ।