दार्चुला। दार्चुलामा जीप दुर्घटना भएको छ। आज दिउसो दार्चुलाको गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आउदै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना भएको हो । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा पर्ने उल्लानीमा उक्त जीप दुर्घटना हुँदा ५ जनाको घट्ना स्थलमै मृत्यु भएको हो।
जिप सडकबाट करिब २५० मिटर तल खसेको छ । जीप दुर्घटनामा परी ४ जना पुरुष तथा १ जना महिलाको घट्ना स्थलमै मृत्यु भएको खबर प्राप्त भएको छ । तर दुर्घटनाका मृतकको सनाखत हुन सकेको छैन। दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते हुनेमा मालिकार्जुन ३ की ५० वर्षीया गोमती देवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी छन् । यस्तैमालिकार्जुन ६ की ४० वर्षीया रेवती धामी र महाकाली नगरपालिका ३ का ३५ वर्षीय रमेश लुहार रहेका छन्। उनीहरुको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।उद्धार कार्यमा मालिकार्जुन प्रहरी चौकीको टोली र स्थानीय खटिएका छन् । दुर्घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले बताएको छ। जीप अनियन्त्रित भएपछि चालकले गाडी नियन्त्रण गर्न नसकेपछि दुर्घटना भएको यात्रुले बताएका छन् । घट्ना स्थलमा अहिले मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी र स्थानीयहरु खटिएका छन्।