कञ्चनपुर। सरकारले मंसिर ४ मा प्रतिनिधि र प्रदेश सभा निर्वाचन घोषणा गरिसकेपछि कञ्चनपुरमा चुनावी चर्चा चुलिएको छ। चुनावको मिति घोषणा भएसँगै कञ्चनपुरमा पनी चुनावी चर्चा र चाँसो बढेको छ । तर यति बेला कञ्चनपुर क्षेत्र नम्बर १ मा संघ र प्रदेशको निर्वाचनको चुनाव लड्ने चर्चा निकै चुलिएको छ। कञ्चनपुर क्षेत्र नं १ बाट बिना मगर चुनाव लड्ने चर्चा र बहस हुन थालेको छ।
निर्वाचनमा देशभर सत्तारुढ दलहरुबीच गठबन्धनको सहमति सार्वजनिक भएपनि कञ्चनपुरमा भने गठबन्धन आवश्यक नभएको प्रमुख दलका नेता कार्यकर्ताहरुले बताएका छन्। गठबन्धन भए कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले संघीय सांसद छोड्नु पर्ने चर्चा चुलिएपछि गठबन्धनको नाममा क्षेत्र नछोड्ने कांग्रेसका नेता कार्यकर्ताहरु बताएका छन्। नेपाली कांग्रेसबाट संविधानसभा सदस्य रहिसकेका इतर समूहका कञ्चनपुरका प्रभावशाली नेता दिवान सिंह विष्टको समेत क्षेत्र रहेको कञ्चनपुर १ मा गठबन्धन हुँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कि बुहारी बिना मगर उम्मेदवार बन्ने चर्चा भएपछि कांग्रेसका नेता कार्यकर्ता पार्टीले नेतृत्व गुमाउने गरी हुने गठबन्धन आवश्यक नरहेको बताएका छन्।
कांग्रेसका नेता कार्यकर्ताले आसन्न निर्वाचनमा गठबन्धन आवश्यक नभएको बताउँदै आएका छन् । स्थानीय तहको निर्वाचनमा प्राप्त मतका आधारमा नेपाली कांग्रेस पहिलो पार्टीले संघीय सांसद पद तेस्रो नम्बरमा देखिएको दललाई नदिने नेपाली कांग्रेस क्षेत्र नम्बर १ का नेता कार्यकर्ता बताउँछन् । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस क्षेत्रमै बलियो स्थानमा रहेको छ। नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायले तेस्रो नम्बरमा रहेको माओवादीलाई संघीय सांसद पद दिने गरी हुने गठबन्धन कांग्रेसलाई आवश्यक नरहेको बताए।
स्थानीय तहको निर्वाचनमा प्राप्त मतका आधारमा कांग्रेस क्षेत्रमै बलियो भएको अवस्थामा संघीय सांसद कांग्रेसले अन्य दललाई नदिने उनको भनाई छ।कांग्रेस क्षेत्र नम्बर १ का सहसचिव हर्कबहादुर बिष्टले स्थानीय तहको मत परिणामका आधारमा पहिलो रहेको पार्टी नेपाली कांग्रेसले कुनै पनि हालतमा संघीय सांसद तेस्रो स्थानमा रहेको पार्टीलाई नछोड्ने बताए । यस्तै कांग्रेस क्षेत्र नम्बर १ ख का सभापति चेतन राईले सांगठनिक हिसाब र जनमतका आधारमा बलियो पार्टी कांग्रेसले कञ्चनपुर १ मा संघीय सांसद नछोड्ने दावी गरेका छन् ।