धनगढी। सरकारले मंसिर ४ मा प्रतिनिधि र प्रदेश सभा निर्वाचन घोषणा गरिसकेपछि अहिले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा चुनावी चर्चा हुन थालेको छ। चुनावको मिति घोषणासँगै धनगढीमा कांग्रेसका दुई नेताबारे चुनावी चर्चा निकै चुलिएको हो। यहाँका चोक चौतारा चियापसल देखी आमसर्वसाधारण सम्ममा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा राणा र पूर्वराज्यमन्त्री तथा कांग्रेसका नेता पुष्करनाथ ओझाबारे चुनावी चर्चा र चाँसो बढेको छ ।
२०७४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी आरजु एमालेका नारदमुनि रानासँग करिब ४ हजार मतले पराजित भएकी थिइन्। त्यतिबेला दाबेदार रहेको नेता ओझाले आरजुलाई असहयोग गरेको आरोप लागेको थियो । त्यही आरोपले ओझा पार्टीबाट कारवाहीमा परेका थिए । धनगढी क्षेत्रबाट आरजु हारेपछि त्यसको दोष पुस्करनाथलाई लागेको थियो। यस्तै कांग्रेस कैलालीका एक जना नेताले आरजु हराएको आरोपमा कांग्रेसले ओझालाई साधारण सदस्यबाट निष्काशित गरेको कारबाही अहिलेसम्म फुकुवा नभएको बताए। उनले कैलाली–५ मा कांग्रेसभित्रको आन्तरिक विवाद त्यसबेलादेखि देखा परेको बताए। यस्तै ओझा माथिको कारबाही फुकुवा नगर्दा एकथरी नेता कार्यकर्तामा आरजुप्रतिको धारणा नकारात्मक भएर बसेको ति नेता बताउँछन्।
ओझाले मंसिर ४ मा कैलाली ५ बाट उम्मेदवार बन्ने अनौपचारिक घोषणा गरिसकेका छन् । उनले कांग्रेसका सक्रिय सदस्यहरूलाई आफ्नो उम्मेदवारी रहने जानकारी गराएको उनी निकटका एक नेताले बताए । दोस्रो संविधानसभा निर्वाचनमा प्रधानमन्त्री देउवा कैलाली ५ बाट पनि निर्वाचित भएका थिए । उपनिर्वाचनमा संविधानसभा सदस्य भएका थिए । आउँदो निर्वाचनमा स्वतन्त्रबाट भए पनि उम्मेदवार बन्ने ओझाको घोषणा र कांग्रेसबाट उम्मेदवार बन्ने चर्चामा रहेकी प्रधानमन्त्री पत्नी आरजुका कारण धनगढीको राजनीतिक बहसको चर्चा चुलिएको छ। मंसिर ४ को निर्वाचनमा आरजुको चुनावी विश्लेषण गर्नेहरूले ओझा फ्याक्टर मात्रै नभएर पार्टीको गत फागुनमा सम्पन्न जिल्ला अधिबेशनको असर समेत पर्ने बताएका छन्।
अधिवेशनयता बिग्रिएको निवर्तमान जिल्ला सभापति तथा प्रदेश महामन्त्री नरनरायण शाह र आरजु बीचको सम्बन्ध चुनौती थपिने काँग्रेस जानकारहरू बताएका छन्। कैलाली–५ बाट उम्मेदवार बन्न आरजुले शाह र ओझा दुवै जनालाई मिलाएर लैजानुपर्ने कतीपय काँग्रेसीहरुको भनाई छ। तब मात्र कांग्रेस एक हुने उनीहरुको बुझाई छ।धनगढीका मतदाता र बौद्धिक बर्गले आरजुबाट यस क्षेत्रको विकासका लागि धेरै आशा गरेकाले ओझाको स्वतन्त्र उम्मेदवारीले कुनै क्षति नहुने धारणा राख्छन् । नेता ओझाको पुर्ख्यौली घर डोटी हो । यसैबीच, आरजुले कैलाली–५ मा सुरक्षित जितको अवस्था नदेखे डडेल्धुरा, कञ्चनपुर–३ र बर्दियाबाट उम्मेदवार हुन सक्ने चर्चा पनि छ । डडेलधुराबाट देउवाले कैलाली ५ मा आउने सक्ने र आरजु डडेलधुरा जाने कार्यकर्तावृत्तमा चर्चा छ । यस्तै कांग्रेसबाट प्रधानमन्त्री पत्नी आरजु नै उम्मेदवार बन्ने कांग्रेसवृतमा चर्चा छ। त्यसकारण कांग्रेस कैलालीमा निर्वाचन रोचक बन्ने देखिएको छ ।