धनगढी : कैलालीको त्रिनगर भन्सार नाकामा झडप भएको छ । धनगढी उप महानगरपालिका वडा नम्बर २ का महिलाहरुले अबैध रुपमा समान ल्याउँने क्रममा महिला र कैलाली भन्सार कार्यालयका भान्सेबिच झडप भएको हो ।
सोमबार राति आठ बजे भारत बाट सामान ल्याउदै गर्दा झडप भएपछि प्रहरीले दुई महिलासहित ४ जनालाई नियन्त्रणमा लिएको छ । नाकाबाट अवैध रुपमा सामान लिएर आइरहेका दुई जना महिलालाई सोमबार राति प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भन्सार कार्यालयका भान्से महता उपमहानगरपालिका–२ का रिचा कुँवर र मञ्जु कुँवर, रिचाका श्रीमान कालुसिंह कुँवर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रिचा र मञ्जुले भन्सार कर्मचारीमाथी हातपात गर्दै कपडा च्यातेका थिए । उनिहरुलाई सम्झाई बुझाई गर्न खोज्दापनि नमानेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक बेद प्रकाश जोशीले बताए ।
महिलाहरुले भने आफूहरुमाथि हातपात भएको, नाकमा लगाएको फुली हराएको, आफूहरुबाट दुई हजार रकम माग गरिएको जस्ता आरोप लगाइरहेको प्रवक्ता जोशीले बताए । राति ती महिलाहरुले ल्याएको सामान भन्सार कार्यालयले बरामद गरेको प्रहरीले जनाएको छ ।
घुस माग्दा झडप
महिलाहरुले भने गाडी चालक भनिएका रोहित महताले समान ल्याउने महिलाहरुबाट दुई हजार घुस माग्दा दिन नमाने पछि दुईटै पक्ष बिच झडप भएकोे बताएका थिए ।
श्रोतका अनुसार कैलाली भन्सार कार्यालय प्रमुखका भान्से हुन चालक भनिएका रोहित महता । महता र सर्बोच्च अदालतका सवारी चालक अबैध बाटोबाट तस्करी हुने ठाउँमा बसेका थिए । भन्सार कार्यालय प्रमुखका भान्से महता तस्करबाट रकम अशुल्न बिगतमापनि परिचालन भइरहन्थे । श्रोतले भन्यो “महता भन्सार प्रमुखका नामको मात्रै भान्से हुन्, उनि रकम अशुल्नमै सक्रिय हुन्छन् ।”
महतासंगै सर्बोच्च अदालतका सवारी चालक समेत नाकामा रहेको खुलेको छ तर तिनका बारेमा भन्सार कार्यालय तथा प्रहरीले खुलाएको छैन । कैलालीमा प्रहरी, सशस्त्र प्रहरी र भन्सारका कर्मचारी आर्थिक प्रलोभनमा परी अवैध सामान ओसार पोसारमा सहयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ ।