काठमाडौँ। बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरू सोमबार राति तोडफोड गरिएको छ। धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपर सोमबार राति तोडफोड भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका इन्जिनियर सरकारदिप श्रेष्ठका अनुसार दुई वटा डोजर, एउटा स्काभेटर र १४ वटा टिपरको सिसा राति अज्ञात समूहले फुटाएको हो।
नुवाकोट र धादिङको सिमाना नजिकैको कोल्पु खोला अगाडि पार्किङ गरिएका ती सवारी राति ८ बजे ५० मिनेटमा तोडफोड भएको प्रहरीले जनाएको छ । तोडफोड भएका सवारी साधानहरु फोहोर मैला व्यवस्थापन गर्ने कम्पनी र निजी क्षेत्रका हुन् । सोमबार दिउँसो काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर बन्चरे डाँडामा ४० टिपर फोहोर विसर्जन गराएको थियो । राति अबेर भएपछि फोहोर बोकेका टिपर सशस्त्र प्रहरीको बेस क्याम्प नजिकै रहेको क्षेत्रमा पार्किङ गरेर राखिएका थिए । तोडफोड भएपछि घट्नास्थलमा प्रहरी मध्यरात १२ बजे पुगेको थियो । यसैबीच, टिपर चालकहरूले सिसडोलमा मंगलबार बिहान नाराबाजी गरेका छन् ।
सशस्त्र प्रहरी पोस्ट नजिकै पार्किङ गरेर राखिएको गाडीलाई समेत सुरक्षा दिन नसकेको भन्दै उनीहरुले केही बेर नाराबाजी गरेका थिए। काठमाडौं महानगरले सिसडोलको सडक मर्मत गरेपछि फोहोर विसर्जन सहज हुने अनुमान थियो। नुवाकोट र धादिङका स्थानीयले फोहोर बोकेको गाडीबाट धेरै धुलो उड्यो भन्दै गाडी आवातजावतमा रोक लगाउन खोजेका थिए । उनीहरुले ढुवानीमा अवरोध गर्न खोजेपछि सोमबार काठमाडौंबाटै प्रहरी झिकाएर फोहोर विसर्जन गराइएको थियो। त्यहाँ कार्यरत एकजना सुरक्षाकर्मीले फोन कुराकानीमा भने, हिजो फोहोर विसर्जन गर्दासम्म सबै शान्त थिए । आन्दोलनकारीहरुले कुनै प्रतिक्रिया पनि दिएनन्। राति पानी परेको थियो, कति बजे कसले फुटायो थाहा भएन । हामीले थाहा पाउँदा ९ बज्न लागेको थियो। महानगरपालिकाका इन्जिनियर श्रेष्ठले घटनाबारे अनुसन्धान भइरहेको बताए । यस्तो अवस्था छ अब फोहोर कसरी विसर्जन गर्नु ? उनले भने ।