धनगढी । चार बर्ष अघी कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा पक्राउ परेका दिलिप सिहं बिष्टले अर्की युवतीमाथी दुब्र्यवहार गरेको आरोप लागेको छ । दिलिप बाटोमा हिँड्ने किसोरीहरुलाई दुब्र्यवहार गर्न लागेको गुनासो बढेको छ । निर्मला पन्त भेटिएको क्षेत्रमा पर्ने भगतपुर ब्यारेक उल्टाखाम सडकखण्ड भएर आवतजावत गर्ने युवतीहरुलाई जिस्काउने गरेको गुनासो प्रहरीकहाँ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक श्यामसिंह चौधरीका अनुसार दिलिपले बाटोमा हिड्ने क्रममा प्लस टुमा अध्ययनरत युवतीलाई जिस्काएको गुनासो आएको छ । उनले सो विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । दिलिपले जिस्काउछ भनेर युवतीका अबिभावकहरु आएको र सो कुरालाई गम्भिरतापुर्वक लिएर अनुसन्धान गरिरहेको चौधरीले बताए ।
चार वर्षअघि बलात्कारपछि निर्मलाको हत्या आरोपमा पक्राउ परेर छुटेका विष्टले सोही आसपासमा हिड्ने किशोरी तथा युवतीहरुलाई जिस्काउन थालेपछि अभिभावक त्रसित भएका छन् भने किशोरी तथा बालिकाहरुले असुरक्षा महसुस गर्न थालेका छन् ।
प्रहरीसँगको बयानका क्रममा विष्टले निर्मलाको आफूले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको दाबी गरिएको थियो । मानसिक सन्तुलन ठीक नभएका विष्ट यसअघि आफ्नै भिनाजुको हत्या अभियोगमा जेल परेर छुटेका थिए ।
निर्मला प्रकरणमा प्रहरीले मानसिक सन्तुलन ठीक नभएका विष्टलाई पक्राउ गरेर वास्तविक दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै कञ्चनपुरमा आन्दोलन समेत चर्किएको थियो । सो क्रममा आन्दोलनले हिंसात्मक रुप लिंदा प्रहरीले चलाएको गोली लागेर ८ भदौमा स्थानीय १५ वर्षीय सन्नी खुन्नाको मृत्यु भएको थियो भने केही प्रदर्शनकारी र सुरक्षाकर्मी समेत घाइते भएका थिए ।
चार वर्षअघि कञ्चनपुरमा निर्मला पन्त घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । निर्मला हत्याको २५ दिनपछि प्रहरीले भीमदत्त नगरपालिका–२ कै दिलिपसिंह विष्टलाई समातेर अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो ।
त्यसको दुई दिनपछि २६ भदौमा जिल्ला अदालतले उनको संलग्नता पुष्टि गर्ने ठोस प्रमाण नभएको र डीएनए समेत म्याच नभएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनी छुटेका थिए ।