धनगढी : कोरोना भाइरशको संक्रमण बढ्न थालेपछि भारतसंग जोडिएको सिमा गौरिफन्टा नाकाको अनुगमन गरिएको छ । सामाजिक बिकास मन्त्री गोबिन्द बोहरा र धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले नाकाको अनुगमन गरेका हुन् । भारतबाट नेपाल आउनेहरुमा कोरोना संक्रमण बढी देखिएको भन्दै मन्त्री बोहरा र मेयर हमालले नाकामा परीक्षण र खोपको व्यवस्थापनका लागि स्थलगत अनुगमन गरेका हुन् ।
मन्त्री बोहरा र मेयर हमालले कोरोनाको सङ्क्रमणदर, परीक्षणको अवस्था, सीमा क्षेत्रमा रहेका स्वास्थ्यकर्मीको जनशक्ति, स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सुरक्षा लगायतको निरीक्षण गरेका छन् ।
मन्त्री बोहरा, मेयर हमाल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, सुदूरपश्चिमका डीआईजी मोहनकुमार आचार्य तथा स्वास्थ्यकर्मीहरुको समूहले सीमा नाकाको अनुगमन गरेको हो।
उनीहरुले संक्रमितहरुलाई गरिएको व्यवस्थापनमा पनि चासो दिएका छन्। सुदूरपश्चिमका सामाजिक विकास मन्त्री बोहराले सीमा क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि त्रिपालको राम्रो व्यवस्था नभएको बताए। कोरोनाको सङ्क्रमण दर बढेकाले सीमा क्षेत्रका स्वास्थ्यकर्मीका लागि प्रोत्साहनका लागि भत्ता तथा पुरस्कारको व्यवस्था गरिने उनले बताए।