धनगढी। सुदूरपश्चिम प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको सेवा-सुविधासम्बन्धी विधेयक प्रतिपक्षी दलको असहमतिका बीच पारित भएको छ। आज बसेको प्रदेश सभा बैठकबाट सुदूरपश्चिम प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सेवा-सुविधासम्बन्धी संशोधन गर्न बनेको विधेयक २०७९ प्रतिपक्षी दलको असहमतिका बीच विधेयक पारित भएको हो। प्रदेशसभामा सो विधेयक पारितका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले प्रस्ताव पेश गरेका थिए ।
प्रदेशसभाका उपनेता, प्रमुख सचेतक, सचेतक, सदस्यलाई सुविधा थप गर्दा प्रदेश सरकारले आर्थिक भार बढाउने भन्दै विधेयकमाथिको दफाबार छलफलमा प्रतिपक्षी दलहरुले सो विधेयकमाथि असहमति जनाएका थिए । प्रदेश सरकारले ऐन विपरीत मन्त्रिपरिषदका निर्णयबाट प्रदेशसभा सदस्यहरुलाई उपलब्ध गराइएको उपचार खर्चलाई कानुनमै व्यवस्था गर्ने तयारी गरेको छ ।प्रदेश सरकारले २०७५ सालमा जारी गरेको प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा प्रदेशसभा सदस्यहरुलाई उपचार खर्च उपलब्ध गराउने कुनै व्यवस्था गरेको थिएन ।
मन्त्रिपरिषदका विभिन्न निर्णयले प्रदेशसभा सदस्य अम्बिकुमारी थापा, सार्वजनिक लेखा समिति सदस्य नन्दाकुमारी बम, प्रदेश सभा सदस्य गेल्बु सिंह बोहरा, हर्कबहादुर कुँवर, देवकी मल्ल, तारा लामा तामाङ, उमाकुमारी बादी, डिल्लीराज पन्तलगायतलाई उपचार खर्च उपलब्ध गराउने निर्णय गरिसकेको छ ।प्रदेश सरकारले २०७५ सालमा पारित गरेको विधेयकमा भनिएको छ –‘चिकित्सकले अस्पतालमा भर्ना भई उपचार गर्नुपर्ने भनी सिफारिस गरेको पदाधिकारी वा सदस्यले सरकारी वा सामुदायिक अस्पतालमा भर्ना भई औषधि उपचार गराएमा त्यसरी उपचार गराउँदा लागेको पिस्क्रिप्सन तथा बील बमोजिम खर्च सचिवालयले व्यहोर्ने छ ।’
अहिले संशोधनका लागि लगिएको सो विधेयकमा ‘प्रदेशसभा सदस्यलाई सरकारी वा सामुदायिक बाहेकका अन्य अस्पतालमा लागेको उपचार खर्च प्रदेश सरकार ९मन्त्रिपरिषद० को निर्णयबमोजिम उपलब्ध गराइ दफा थप गरिएको छ ।’संशोधन विधेयकको दफा १८ ‘क’ मा भनिएको छ– ‘यसै ऐन बमोजिम भएको मानिने यो ऐन प्रारम्भ हुनुभन्दा अघि कुनै सुविधा खाइपाई आएको भए यसै ऐन बमोजिम भएको मानिने छ ।’यसअघि विधेयकले सभामुख, उपसभामुख, विपक्षी दलको नेता, सत्ता पक्ष प्रमुख सचेतक र सभापतिलाई चालकसहितको सवारी साधन, इन्धन र मोविल उपलब्ध गराउने उल्लेख थियो । संशोधित विधेयकमा सत्ता पक्ष संसदीय दलका नेता, विपक्षी दलका प्रमुख सचेतक, सत्तापक्ष संसदीय दलका प्रमुख सचेतकलाई चालकसहित सवारी साधन, इन्धन र मोविल उपलब्ध गराउने भनी व्यवस्था गरेको छ ।


