धनगढी : नेकपा माओवादी केन्द्र निकटको वाइसियल नेपाल सुदूरपश्चिम प्रदेश समितिको बिस्तारित बैठक सम्पन्न भएको छ । वाइसियल नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष शिव बोगटीको अध्यक्षतामा आयोजित बिस्तारित बैठकमा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वाइसियल नेपालका केन्द्रिय संयोजक सुमन देवकोटा प्रमुख अतिथि थिए । आगामी भदौ ३ र ४ गते काठमाण्डौँमा आयोजना हुने राष्ट्रिय भेलालाई मध्यनजर गर्दै प्रदेश बैठक बसेको सुदूरपश्चिम अध्यक्ष शिव बोगटीले जानकारी दिए ।
बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वाइसियल नेपालका सह संयोजक सुबोध शेर्पालीले वाइसियल नेपाल युवा र आम नागरिकका मुद्धामा सम्बेदनशिल भएको बताए । युवाहरुले अब संगठन र देशको नेतृत्व लिनुपर्ने बिषयमा बिज्ञता हासिल गर्नुपर्नेमा शेर्पालीको जोड थियो । वाइसियल नेपाल मात्रै आम जनताका मनमा बसेको संगठन भएका कारण हामीले उठाउने मुद्धामा सबैको एक्यबद्धता रहने गरेको उनको भनाई थियो ।
शेर्पालीले नेकपा माओवादीकै नितिमा देश चलिरहेपनि आम नागरिककहाँ अन्य दलहरुले झुटा खबर दिएका कारण माओवादी बारे जनता अँझै प्रस्ट हुन नसकेको बताए ।
माओवादीले ल्याएको नितिमा अरुले नेतृत्व गर्दा निति अनुरुप काम नभएको भन्दै उनले अब माओवादीले नेतृत्व गरे मात्रै जनताले अधिकार प्राप्त गर्ने बताए । वाइसियलका सबै संंगठनहरुलाई युवा तथा आम जनमानसका मुद्धामा सम्बेदनशिल भएर काम गर्न उनले निर्देशन दिए । साथै आउँदै गरेको आम निर्वाचनलाई मध्यनजर गर्दै आ आफ्ना गतिबिधी बढाउन उनले निर्देशन दिए ।
बिस्तारित बैठकमा नेकपा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरी (उत्सव), वाइसियल नेपालका सुदुरपश्चिम प्रदेश इन्चार्ज दिलबहादुर थापा (तुफान) लगायतको उपस्थितिमा धनगढीमा बैठक सम्पन्न भएको हो।

