कैलाली। कैलाली र कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापन हुन सकेको छैन् । पहिलो स्थानीय तहको निर्वाचनका बेला छाडा चौपाया व्यवस्थापनको मुद्दा उठेपनी ब्यवस्थापनमा ध्यान नदिंदा पुनः यो समस्या बल्झिएको छ। उम्मेदवारले छाडा चौपाया व्यवस्थापनलाई नै प्रमुख एजेन्डा बनाएर निर्वाचितपछि ठूलो रकम खर्च गरिएपनी सो समस्या अहिले पनि जस्ताको त्यस्तै रहेको पाइएको छ।
कैलाली र कञ्चनपुरमा छाडा चौपायाहरू दिनभरि सडकमा हिँड्ने र राति खेतबारीमा पस्ने गर्छन् । जसका कारण सडकमा यात्रा गर्नेदेखि कृषकहरू हैरान भइसकेका छन् । खेतीपाती जोगाउन रातभरि जाग्राम बस्नुपर्ने कृषकहरू बताउँछन् ।कैलालीको धनगढी, अत्तरीया लगायतका सडक तथा कञ्चनपुरको गड्डाचौकीदेखि अत्तरियासम्म हरेक चोकमा यस्तै समस्या देखीएको छ । बिहानदेखि साँझ अबेरसम्म छाडा चौपायाका बथान देखिन्छ । रातिको समयमा हुने अधिकांश सडक दुर्घटना छाडा चौपायाकै कारण हुने गरेका छन् ।
कृषकहरूले आफ्नो बारी जोगाउन काँडे तार पनि लगाएका छन् । तर पनि छाडा चौपाया खेतमा पसेर वाली जोगाउनै मुश्किल हुने गरेको छ । ‘ठूलो बथान आएर तारबार पनि तोडेर भित्र पस्छ, रातभरि बसेर पनि खेती जोगाउन मुस्किल भइसक्यो,’ भीमदत्त नगरपालिका ५ बनगाउँका रमेश जोशीले भने, ‘दिनभरि सडकमा बस्छन्, राति खेतमा ।’स्थानीय तहहरूले छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माणदेखि ट्याग लगाउने तथा पहाडी जिल्लातर्फ पठाउने काम गरे । भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाले ५० लाखदेखि १ करोडसम्म खर्च पनि गरे । तर अहिले ती गौशाला भत्किसकेका छन् भने छाडा चौपाया फेरि त्यत्तिकै भइसकेका छन् । घर घरमा पुगेर ट्याग लगाएका गाईगोरुसमेत अहिले छाडा भइसकेका छन् ।
पालिकाहरूले दीगो रूपमा व्यवस्थापन नगरेका कारण फेरि पुरानै अवस्था फर्किएको सर्वसाधारण बताउँछन् । कम्तीमा ट्याग लगाएका गाई गोरु छाड्नेलाई कारबाही गर्न सके पनि केही हदसम्म व्यवस्थापन हुने स्थानीय बताउँछन् । ‘करोडौं रकम खर्च गर्दा पनि समस्या उस्तै छ,’ भीमदत्त नगरपालिका ६ का गणेश चन्दले भने, ‘छाडा चौपाया व्यवस्थापनका नाममा पनि कार्यकर्ता नै मोटाए ।’ छाडा चौपायाको सबैभन्दा बढी समस्या भीमदत्त र बेदकोट नगरपालिकामा देखिन्छ । बेदकोटमा ७ सय छाडा चौपाया रहेको अनुमान छ । जसमध्ये २५० लाई वडा ६ चुनेपानीको खोरमा राखिएको छ । बेदकोटले उपप्रमुख तुलसी जोशीको संयोजकत्वमा कार्यदल बनाएर छाडा चौपाया व्यवस्थापनका लागि अध्ययन तथा छलफल गरिरहेको नगर प्रमुख भोजराज बोहराले बताए ।
‘विगतको जस्तै एक ठाउँमा लगेर छाडा चौपायालाई थन्क्याउने होइन, कम्पोस्ट मलको स्रोतका रुपमा पनि प्रयोग गर्नुपर्ने हाम्रो योजना छ,’ नगर प्रमुख बोहराले भने, ‘त्यहि अनुसार अध्ययन र छलफल भइरहेको छ ।’ उनले कार्यदलले व्यवस्थापनको मोडालिटि र अनुमानित लागतबारे अध्ययन गरिरहेको र त्यसको टुंगो लागेपछि काम सुरु हुने बताए । भीमदत्त चौपाया व्यवस्थापन निकै जटिल भइसकेकाले व्यवस्थापन पनि त्यति नै चुनौतीपूर्ण रहेको भीमदत्त नगर कार्यपालिकाका प्रवक्ता महेन्द्र खडकाले बताए । उनले विगतको जस्तै एक ठाउँमा राखेर घाँस पराल मात्रै हाल्दा स्रोत र समय मात्रै खर्च हुने भएकाले त्यसको सिकाइबाट अब फरक तरिकाले व्यवस्थापन गर्नुपर्ने बताए । ‘विज्ञहरूबाट यसको व्यवस्थापनका लागि अध्ययन गराएपछि दिगो व्यवस्थापनका लागि जानुपर्छ,’ उनले भने, ‘हामीले व्यवस्थापन गर्दै जाने सर्वसाधारणले छाड्दै जाने हो भने यो समस्या कहिल्यै समाधान नहुन पनि सक्छ ।


