कैलाली। कैलालीको जानकी गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। सामाजिक सुरक्षाभत्ता वितरणमा भ्रष्टाचारजन्य कसुर भएको आशंकामा अख्तियारले बुधबार कागजात नियन्त्रणमा लिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले सम्बन्धित कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।
जानकी गाउँपालिकाको वडा नं.९ को वडा कार्यालयले मृत्यु भएका ब्यक्तिको नाममा फर्जी कागजात मिलान गरी आर्थिक हिनामिना गरेको उजुरीपछि कागजात नियन्त्रणमा लिएको कार्यालयका शाखा अधिकृत तथा सूचना अधिकारी चन्द्रकान्त बस्नेतले जानकारी दिए। सूचना अधिकारी बस्नेतकाअनुसार विगत २०७५ सालदेखिको सामाजिक सुरक्षाभत्ता वितरणमा भ्रष्टाचारजन्य गतिविधि भएको कार्यालयमा उजुरी प्राप्त भएपछि छानबिन गरिएको छ। बस्नेतले कार्यालयमा प्राप्त भएको उजुरीका आधारमा उजुरीसँग सम्बन्धित कागजपत्र नियन्त्रणमा लिइएको बताए ।
उनले भने, ‘ गत साउन १० गते कार्यालयमा उजुरी परेको थियो। तत्पश्चात कागजपत्र नियन्त्रणमा लिएर हामीले अनुसन्धान सुरु गरेका छौँ । तथ्य, प्रमाणको संकलन गरी प्रारम्भिक अध्ययन सुरु भएको छ। छानबिनपछि संलग्न कर्मचारीमाथि कसुर बमोजिमको कारबाही माग दाबीसहित विषेश अदालतमा मुद्दा दर्ता गर्छौँ।’ उनले आर्थिक वर्ष २०७४/०७५ देखिका उजुरीसँग सम्बन्धित कागजात नियन्त्रमा लिइएको बताए । ‘मृत्यु भएकाको नाममासमेत बैंक खाता खोलिएको देखियो, त्यसैले हामीलाई यसमा विस्तृत अध्ययन तथा अनुसन्धान गर्नुपर्छ भन्ने लागेपछि उजुरीसँग सम्बन्धित कागजपत्रहरु वडा कार्यालय र गाउँपालिका कार्यालयबाट नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौँ, उनले भने।

