दार्चुला। दार्चुलामा अवैध यार्सागुम्बासहित एक जना पक्राउ परेका छन् । दार्चुला प्रहरीले महाकाली नगरपालिका–८ स्थित आसाकाडाबाट अवैध यार्सागुम्बासहित एक जनालाई पक्राउ गरेको हो। दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको यात्रुवाहक बसबाट व्यास गाउँपालिका–४ सुन्सेराका कम्मानसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको हो । विष्टको साथबाट एक किलो ६ सय ग्राम यार्सागुम्बा बरामद गरिएको प्रहरीले जनाएको छ ।
साथै उनको साथबाट कस्तुरीको बिना जस्तै शंकास्पद वस्तु पनि बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश शाहीका अनुसार विष्टको साथबाट १५ ग्रामको कस्तुरीको बिना जस्तै देखिने वस्तु बरामद गरिएको छ । आसाकाडामा रोकिएको बसमा जाँच गर्दा विशेष सूचनाका आधारमा प्रहरीले विष्टको साथबाट यार्सागुम्बा र कस्तुरीको बिना जस्तै शंकास्पद वस्तु बरामद गरिएको जनाएको छ । हाल विष्टलाई नियन्त्रणमा लिनुका साथै बरामद भएको यार्सागुम्बा र कस्तुरीको बिना जस्तो वस्तुलाई डिभिजन वन कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।