कञ्चनपुर। कञ्चनपुरमा मापसे गरेका वडाअध्यक्षले प्रहरी कार्यालयकै गेटअगाडि होहल्ला गर्न थालेपछि पक्राउ परेका छन्। शुक्लाफाँटा नगरपालिका-८ का वडाअध्यक्ष बहादुर सिंह महरालाई मादक पदार्थ सेवन गरेको भन्दै प्रहरीले पक्रेको हो ।
ईलाका प्रहरी कार्यालय झलारीको गेटअगाडि आएर होहल्ला गरेपछि महरालाई सोमवार राती प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालयको अगाडि उपद्रो मच्चाइरहेको अवस्थामा वडाध्यक्ष महरालाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।
रक्सीले मातेर प्रहरी कार्यालय अगाडि आई होहल्ला गरेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए। वडाध्यक्षलाई पक्राउ गर्न प्रहरीले सामान्य बलसमेत प्रयोग गरेको थियो । उनका अनुसार राति करिब ८ बजेतिर वडाध्यक्षलाई नियन्त्रणमा लिएर बिहान परिवारका सदस्यको जिम्मा लगाइएको छ ।
उनले इप्रकाको गेटमा स्थानीसँग विवाद गरिरहेको भिडिओ पनि सार्वजनिक भएको छ। नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनी २०७४ सालको स्थानीय चुनावमा पनि जितेका थिए। उनले आफ्नो वडालाई मदिरा निषेधित क्षेत्र पनि घोषणा गरेको बताइएको छ।
https://www.facebook.com/100081315378049/videos/409703687789611